सिप्रदी हायर पर्चेजको रेटिङ बढ्यो, ८ महिनामा ५५ करोडको कारोबार

काठमाडौं । सिप्रदी हायर पर्चेज प्राइभेट लिमिटेडको दीर्घकालीन कर्जा रेटिङ सुधार भएको छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन कर्जा रेटिङ ‘LBB’ बाट बढाएर ‘LBB+’ कायम गरेको हो।

इक्रा नेपालका अनुसार कम्पनीको दीर्घकालीन फन्डेड (रिभल्भिङ टर्म लोन) कर्जा सीमा पनि बढेको छ। यसअघि ४ अर्ब रुपैयाँ रहेको कर्जा सीमा बढाएर ५ अर्ब ४० करोड रुपैयाँ पुर्‍याइएको छ।

कम्पनीको रेटिङ सुधार हुनुमा सम्पत्तिको गुणस्तरमा आएको सुधार प्रमुख आधार रहेको इक्रा नेपालले जनाएको छ। कम्पनीको ग्रस नन–परफर्मिङ एसेट (GNPA) करिब ३.२ प्रतिशतमा झरेको छ। अप्रिल २०२५ को मध्यमा भएको अघिल्लो रेटिङका क्रममा GNPA करिब १०.८ प्रतिशत थियो।

त्यस्तै, ९० दिनभन्दा बढी भुक्तानी ढिला भएका कर्जाको हिस्सा पनि घटेर करिब ५ प्रतिशतमा झरेको छ। अघिल्लो रेटिङका क्रममा यस्तो कर्जाको हिस्सा करिब १८ प्रतिशत रहेको थियो।

कम्पनीको प्रोभिजन कभरेज पनि सुधार भएर करिब ८७ प्रतिशत पुगेको छ। यसले कम्पनीको सोल्भेन्सी प्रोफाइलमा समेत सुधार आएको इक्रा नेपालले जनाएको छ।

आर्थिक वर्ष २०२६ मा कम्पनीको पोर्टफोलियो करिब २० प्रतिशतले वृद्धि भएको छ। सिप्रदी हायर पर्चेजको गियरिङ करिब २.९ गुणा रहेको छ, जुन नियामक निकायले तोकेको माथिल्लो सीमाभन्दा निकै कम हो। यसका कारण कम्पनीसँग थप ऋण लिएर पोर्टफोलियो विस्तार गर्ने केही अवसर रहेको इक्रा नेपालले जनाएको छ।

यद्यपि, कम्पनीको नेट इन्ट्रेस्ट मार्जिन (NIM) भने घटेको छ। आर्थिक वर्ष २०२६ मा NIM करिब ६.६ प्रतिशतमा झरेको छ, जबकि अघिल्लो आर्थिक वर्षमा यो करिब ८.२ प्रतिशत थियो। त्यस्तै, कम्पनीको लागत–आम्दानी अनुपात करिब ३५ प्रतिशत पुगेको छ।

सन् २०२६ को पहिलो ८ महिनामा कम्पनीको कुल व्यवस्थापित पोर्टफोलियो ४ अर्ब ९१ करोड २० लाख रुपैयाँ पुगेको छ। सो अवधिमा कम्पनीको नेटवर्थ १ अर्ब २८ करोड ९० लाख रुपैयाँ रहेको छ। ८ महिनामा कम्पनीले ५४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ।

यसअघि सन् २०२५ को १२ महिनामा कम्पनीको कारोबार ५५ करोड ५० लाख रुपैयाँ रहेको थियो। त्यस्तै, सन् २०२४ मा ५८ करोड रुपैयाँ, २०२३ मा ५२ करोड ८० लाख रुपैयाँ र २०२२ मा ४९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

सन् २०१४ मा स्थापना भएको सिप्रदी हायर पर्चेज, सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडको शतप्रतिशत स्वामित्वमा रहेको सहायक कम्पनी हो। सिप्रदी ट्रेडिङ नेपालमा टाटा मोटर्सको आधिकारिक राष्ट्रिय वितरकका रूपमा रहेको छ।

हाल कम्पनीको अध्यक्ष सिद्धार्थ एसजेबी राणा रहेका छन्। टाटा ब्रान्डका सवारीसाधनको नेपाली बजारमा रहेको उपस्थितिका कारण कम्पनीले मुख्यतः प्रवर्द्धक कम्पनी सिप्रदी ट्रेडिङमार्फत बिक्री हुने व्यावसायिक सवारीसाधन (CV) खरिदका लागि वित्तीय सुविधा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार