काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरी करिब ११ घण्टामै छाडेको विषय सोमबारको प्रतिनिधिसभा बैठकमा उठेको छ । विभिन्न दलका सांसदहरूले जबराको पक्राउ प्रक्रिया र सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै जवाफ मागेका छन् ।
नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले जबरालाई मध्यरातमा ‘गुण्डागर्दी’ शैलीमा पक्राउ गरिएको टिप्पणी गरे । उनले सरकारको कदमलाई ‘राज्य आतंकको बर्बर नमुना’ भन्दै बिना कसुर र अभियोग पक्राउ गरिएको दाबी गरे ।
महरले लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने भन्दै विरोध गरेकै आधारमा सरकारले व्यक्तिको हुर्मत लिने काम गरेको आरोप लगाए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष विष्णु पौडेललाई समेत सरकारले दुःख दिएको बताए ।
जबरालाई सुरक्षा थ्रेट दिने व्यक्तिमाथि कारबाही नगरी पूर्वप्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको भन्दै उनले आपत्ति जनाए । उनले सुरक्षा थ्रेट दिने भनिएका ‘जेनजी’ समूहका व्यक्तिहरूलाई सार्वजनिक गर्न सरकारसँग मागसमेत गरे ।
यस्तै, नेकपाका प्रमुख सचेतक युवराज दुलालले पनि जबराको पक्राउलाई लिएर सरकारसँग प्रश्नैप्रश्न गरेका छन् । उनले पक्राउ पुर्जी र स्पष्ट कारणबिना पक्राउ गरिएको भन्दै देश कानुनी बाटोमा अघि बढिरहेको छ कि अराजकताको बाटोमा भन्ने प्रश्न गरे ।
दुलालले सुरक्षा थ्रेट दिने व्यक्तिलाई पक्राउ गर्ने हो कि सुरक्षा थ्रेटमा रहेका व्यक्तिलाई पक्राउ गर्ने हो भन्दै सरकारसँग जवाफ मागे । उनले सरकारको कार्यशैलीलाई ‘दादागिरी’को संज्ञा दिँदै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।
मध्यरातमा पक्राउ गरेर ११ घण्टामै जबरालाई छाडिएको विषयमा पनि दुलालले प्रश्न उठाए । उनले व्यंग्यात्मक शैलीमा ‘के खाएपछि मध्यरातमा जोस आउँछ, मध्याह्नमा होस आउँछ ?’ भन्दै सरकारको निर्णयमाथि प्रश्न गरे । उनले जबरालाई सुरक्षा थ्रेट रहेको अवस्थामा सरकारले नै ‘जेनजी’को नाममा सुरक्षा थ्रेट सिर्जना गरेको त होइन भन्ने प्रश्नसमेत गरे ।
यसैगरी, श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारको पछिल्लो कार्यशैली ‘केटाकेटी खेलेजस्तो’ देखिएको टिप्पणी गरे । उनले कहिले भरत दाहाललाई पक्राउ गर्ने र छाड्ने तथा कहिले चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेर छाड्ने गतिविधिले गम्भीर विषयलाई समेत हल्का बनाएको बताए ।
राईले सरकारलाई गम्भीर विषयमा गम्भीरतापूर्वक अघि बढ्न सुझाव दिँदै आफूहरूले लामो समयदेखि प्रधानमन्त्रीको जवाफका लागि प्रश्न बोकेर बसेको बताए । उनले संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममार्फत आफूहरूका प्रश्नको जवाफ दिन माग गरे ।
यसरी पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ र छोटो समयमै रिहाइको विषयलाई लिएर सोमबार प्रतिनिधिसभामा सरकारको कानुनी प्रक्रिया, सुरक्षा व्यवस्थापन र कार्यशैलीमाथि सांसदहरूले गम्भीर प्रश्न उठाएका छन् ।




प्रतिक्रिया