घट्यो,सेयर कारोबारको पुँजीगत लाभकर, उत्साहित लगानीकर्ता

काठमाडौं । सरकारले सेयर कारोबारबाट हुने लाभमा लाग्ने पूँजीगत लाभकर घटाएको छ। सरकारले धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयर बिक्रीबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा लाग्ने अग्रिम करको दर घटाउने निर्णयसँगै सो  कर  घटेको हो।

नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी अवधि सेयर होल्ड गरी बिक्री गर्दा प्राप्त लाभमा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि होल्ड गरेको सेयर बिक्रीबाट प्राप्त लाभमा ५ प्रतिशत अग्रिम कर लाग्नेछ।

चालु आर्थिक वर्षको बजेटमार्फत ३६५ दिनभन्दा बढी अवधि होल्ड गरेको सेयर बिक्रीबाट हुने लाभमा ७.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको सेयरमा १० प्रतिशत अग्रिम करको व्यवस्था गरिएको थियो। मन्त्रिपरिषद्को नयाँ निर्णयपछि दुवै दर घटेका छन्।

मन्त्रिपरिषद् बैठकले सो कर घटाउने निर्णय गर्नुपूर्व  अर्थमन्त्री स्वर्णिम वाग्लेले २१ बुँदे ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेका थिए ।

उक्त कार्ययोजनामा ३६५ दिनभन्दा बढी अवधि होल्ड गरिएको सेयरको लाभमा ३.७५ प्रतिशत र त्यसभन्दा कम अवधिको सेयरमा ५ प्रतिशत कर प्रस्ताव गरिएको थियो। मन्त्रिपरिषद्को निर्णयमा भने दीर्घकालीन लगानीको दरलाई थप घटाएर ३.५ प्रतिशत कायम गरिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अब धितोपत्र विनिमय बजार सञ्चालन गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी स्वामित्वमा रहेको सेयरबाट प्राप्त लाभमा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधिको सेयरबाट प्राप्त लाभमा ५ प्रतिशत अग्रिम कर असुल गर्नेछ।

करको नयाँ दर लागू भएपछि सेयर लगानीकर्ताको कारोबार लागत घट्नेछ। सरकारले पूँजी बजारलाई लगानीमैत्री बनाउने उद्देश्यले कर संरचनामा परिवर्तनसँगै बजारको संरचनागत सुधारका अन्य कार्यक्रमसमेत अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार