काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजेको उडानमार्फत भारत गएका हुन् ।
भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणसँगै नेपाल–भारतबीचका आर्थिक, राजनीतिक तथा कूटनीतिक विषयमा सहकार्यबारे छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमण, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्नेछन् । उनले उच्चस्तरीय कूटनीतिक संवाद, उद्योग तथा व्यापारसम्बन्धी कार्यक्रम र विकास अर्थनीतिबारे हुने प्राज्ञिक छलफलमा पनि सहभागिता जनाउनेछन् ।
अर्थमन्त्री वाग्ले शनिबार साँझ स्वदेश फर्किने कार्यक्रम छ । उनको भ्रमण टोलीमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी छन् ।



प्रतिक्रिया