काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ मौज्दात रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ।
त्यस्तै, कोषका अन्य दुई बैंकमा रहेका डलर खातामा २ करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि कोषबाट केही दिनअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।
बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुटाउँदै आएको छ। हाल कोषमा जम्मा भएको रकममध्ये बैंक खातामा रहेको रकम र अमेरिकी डलर खातामा रहेको रकमसमेत गरी कुल मौज्दात १४ अर्ब रुपैयाँभन्दा बढी पुगेको हो।



प्रतिक्रिया