काठमाडौं । भोटेकोसी नदीमा विनाशकारी बाढी आएको १९ दिन पुगेको छ। गत भदौ १० गते बिहान आएको बाढीले ठूलो जनधनको क्षति गराउनुका साथै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मको क्षेत्र प्रभावित बनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीमा परी मानव अंगसहित १ हजार ३८६ जनाको मृत्यु भएको छ। मृतकमध्ये ३३४ महिला र ५४२ पुरुष छन् भने ५१० जनाको आंशिक अंग मात्रै फेला परेको छ।
बाढीपछि रसुवा, नुवाकोट हुँदै नवलपरासीसम्म शव फेला पर्ने क्रम जारी छ। हालसम्म सबैभन्दा धेरै शव चितवन र नवलपरासीमा भेटिएका छन्। चितवनमा ३६४, नवलपरासी पूर्वमा २२९ र पश्चिम नवलपरासीमा २२२ शव फेला परेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार अझै ५ हजार १३० जना बेपत्ताको सूचीमा छन्। बाढीमा परी ३३९ जना घाइते भएका थिए। तीमध्ये २६९ जना उपचारपछि डिस्चार्ज भएका छन् भने ७० जनाको काठमाडौं उपत्यकाका १९ अस्पतालमा उपचार भइरहेको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ८२८ जनाको उद्धार गरिएको छ। प्रभावितलाई व्यवस्थापन गर्न सरकारले ३७ वटा होल्डिङ सेन्टर स्थापना गरेको छ। नुवाकोटमा २ हजार ५८७, रसुवामा ८३९ र धादिङका होल्डिङ सेन्टरमा ३३५ जना राखिएका छन्।
३२ हजारभन्दा बढी प्रभावित
प्राधिकरणको तथ्यांकअनुसार भोटेकोसी बाढीबाट हालसम्म ३२ हजार ९३६ जना प्रभावित भएका छन्। सबैभन्दा बढी नुवाकोटका विदुर नगरपालिका र किस्पाङ गाउँपालिका, रसुवाको गोसाईंकुण्ड गाउँपालिका तथा धादिङको बेनीघाट रोराङ गाउँपालिका प्रभावित भएका छन्।
भोटेकोसी नदी त्रिशूलीमा मिसिएपछि बाढीको प्रभाव नुवाकोट, धादिङ, गोरखा हुँदै चितवनसम्म पुगेको थियो। बाढीले ६८ वटा झोलुङ्गे पुल र ३७ वटा मोटरेबल पुल बगाएको छ। प्रभावित क्षेत्रको पुनर्निर्माण तथा निर्माणका लागि ७२३ अर्ब रुपैयाँ खर्च लाग्ने सरकारको अनुमान छ।
बेपत्ताको तथ्यांकमा फरक
बाढीमा मृत्यु भएका व्यक्तिको संख्या प्राधिकरण र नेपाल प्रहरीको तथ्यांकमा समान देखिए पनि बेपत्ताको संख्या भने फरक छ।
प्राधिकरणले ५ हजार १३० जनालाई बेपत्ताको सूचीमा राखेको छ। तर, नेपाल प्रहरी प्रधान कार्यालयको आइतबार दिउँसो १२ बजेसम्मको तथ्यांकमा ४ हजार ८९ जना मात्रै बेपत्ता देखिएका छन्। यो संख्या प्राधिकरणको भन्दा १ हजार ४१ जना कम हो।
प्राधिकरणले नेपाल प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरी बलबाट प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ। प्रहरीले भने देशभरको आफ्नै संयन्त्रमार्फत बेपत्ताको विवरण पुष्टि गरी तथ्यांक अद्यावधिक गर्दै आएको जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार प्रहरीले वतनसहितको विवरण पुष्टि भएपछि मात्रै बेपत्ताको सूचीमा नाम राख्ने भएकाले दुई निकायको तथ्यांकमा फरक परेको हो।
उनका अनुसार अहिलेसम्म ४ हजार ८९ जनाको वतन पुष्टि भएको छ भने थप विवरण संकलन र पुष्टि गर्ने काम भइरहेको छ। प्रहरीले सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमार्फत बेपत्ताको संख्या यकिन गरिरहेको जनाएको छ।
प्रहरीको हालसम्मको विवरणअनुसार मनाङ र मुस्ताङबाहेक देशका ७५ जिल्लाका नागरिक भोटेकोसी बाढीबाट प्रभावित भएको देखिएको छ।



प्रतिक्रिया