काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका नागरिकको खोजी तथा फेला परेका बेवारिसे शव र मानव अंगहरूको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षण प्रक्रिया अघि बढाएको छ।
गत भदौ १० गते आएको बाढीपछि नदी किनार तथा आसपासका क्षेत्रमा फेला परेका शव र शरीरका विभिन्न अंगहरूको पहिचान गर्न प्रहरीले सूचना जारी गरेको हो। प्रहरीले बेपत्ता व्यक्तिका रगतका नातेदारलाई डीएनए परीक्षणका लागि आवश्यक नमुना उपलब्ध गराउन आग्रह गरेको छ।
नेपाल प्रहरीका अनुसार स्वदेश तथा विदेशमा रहेका बेपत्ता नेपाली वा विदेशी नागरिकका पहिलो पुस्ताका नातेदारले डीएनए परीक्षण प्रक्रियामा सहभागी हुन सक्नेछन्।
स्वदेशमा रहेका आफन्तले के गर्नुपर्छ?
बेपत्ता व्यक्तिका सबैभन्दा नजिकका रगतका नातेदार—बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जना डीएनए परीक्षणका लागि उपस्थित हुनुपर्नेछ। उपस्थित हुने व्यक्तिले दुई प्रति पासपोर्ट साइजको फोटो समेत साथमा ल्याउनुपर्ने नेपाल प्रहरीले जनाएको छ।
डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमुना आवश्यक पर्नेछ। यसका लागि काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको प्याथोलोजी ल्याबमा सम्पर्क गर्न सकिनेछ। साथै, काठमाडौं बाहिर रहेका आफन्तले आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमार्फत पनि आवश्यक प्रक्रिया अघि बढाउन सक्नेछन्।
बाढीपछि फेला परेका शव तथा मानव अंगहरूको पहिचान गरी बेपत्ता नागरिकको अवस्था यकिन गर्न डीएनए परीक्षणलाई महत्वपूर्ण आधारका रूपमा लिइएको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया