युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका अधिकांश क्षेत्रमा इन्धन अभाव चर्किएको छ। सन् २०२२ मा युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर इन्धन संकट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मस्कोबाट करिब ४८० किलोमिटर उत्तरमा रहेको भोलोग्डाबाट फर्किरहेका रुसी दम्पती येलेना र दिमित्रीले चारवटा पेट्रोल पम्प पार गरेपछि मात्र इन्धन उपलब्ध भएको पम्प फेला पारेका थिए। भोलोग्डासहित विभिन्न क्षेत्रमा केही पेट्रोल पम्प बन्द भएका छन् भने सञ्चालनमा रहेका पम्पहरूमा इन्धन भर्न लामो लाइन लागेको बताइएको छ।
विश्वका प्रमुख तेल उत्पादक राष्ट्रमध्ये एक रूसमा इन्धन सहज रूपमा उपलब्ध हुने र युरोपको तुलनामा निकै सस्तो हुने गरे पनि पछिल्लो समय युद्धका कारण आपूर्ति प्रणाली प्रभावित भएको छ। विशेषगरी युक्रेनी ड्रोन आक्रमणले तेल डिपो तथा ऊर्जा पूर्वाधारलाई निशाना बनाएपछि इन्धन वितरणमा व्यापक असर परेको हो।
मिडिया रिपोर्ट उद्धृत गर्दै एएफपीले जुन महिनायता रूसका ९० प्रतिशतभन्दा बढी क्षेत्रले कुनै न कुनै रूपमा इन्धन अभावको सामना गरेको जनाएको छ। विशाल भूभाग भएको रूसमा अधिकांश यातायात स्थलगत भएकाले इन्धन संकटले दैनिक जनजीवन र ढुवानी प्रणालीमा प्रत्यक्ष प्रभाव पारेको छ।



प्रतिक्रिया