काठमाडौं । नेकपा माओवादीका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकारले आफूलाई सरकारबाट हटाइएको बताएका छन् ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को टोली शनिबार भक्ति नमूना माध्यमिक विद्यालय आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।
विद्यालयमा आयोजित संवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो लामो राजनीतिक यात्रामा यस विद्यालयसँग विशेष सम्बन्ध रहेको स्मरण गरे । ‘म धेरै अघि यहाँ आएको थिएँ, पहिलो पटक प्रधानमन्त्री भएपछि समेत यो विद्यालयमा आएको थिएँ’, उनले भने
उनले हालैको लम्जुङ कृषि क्याम्पस अवलोकन र त्यहाँ भएका छलफलको उल्लेख गर्दै वर्षा यामका कारण पोखरामा रोकिएको मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गरिएको बताए ।
‘हामीले बैतडीदेखि कास्की सम्म अभियान चलाउँदा बर्खाका कारण स्थगित गर्नुपरेको थियो। अहिले फेरि यसलाई निरन्तरता दिएका छौँ । यस अभियानमा हाम्रो जोडिनुको मुख्य उद्देश्य जनताको समस्या बुझेर सिंहदरबारसम्म पुर्याउनु हो,’प्रचण्डले भने ।
अभियानका क्रममा ‘जनयुद्ध’ र जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारसँग निरन्तर भेटघाट भइरहेको जानकारी दिँदै उनले उनीहरूको पीडा सम्बोधन गर्न पार्टीले प्रयासरत रहेको बताए ।
साथै, सरकारमा रहँदा सामाजिक न्याय, सुशासन र विदेशमा रहेका नागरिकका लागि सामाजिक सुरक्षा कोषमा समावेश गर्ने जस्ता काम गरेको पनि स्मरण गरे ।
‘राम्रो काम गर्दै गर्दा हामीलाई सरकारबाट हटाइए पनि भ्रष्ट्राचार अन्त्य र सुशासनको अपेक्षा राख्ने जनताको मनबाट हामी हटेका छैनौँ,’ प्रचण्डले भने ।


प्रतिक्रिया