काठमाडौं । ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा हवाई उडान पुनः सञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि आइतवार विमानस्थलमा पुनः उडान भएको हो ।
विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौं–रुम्जाटार सेवा दिँदै आएको थियो । आइतवार समिट एयरलाइन्सले परीक्षण उडान गरेको छ । काठमाडौंबाट चालक दलका चारसहित १८ यात्रु लिएर आएको समिट एयरले अवतरण गरेको थियो ।
वर्षातका कारण आएको बाढीले बीपी राजमार्ग बन्द हुँदा सिधा सवारीमा यात्रा गर्ने सम्भावना नभएकाले रुम्जाटारमा विमान आउँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ । यस विमानस्थलमा नियमित उडानको पहल गरिएको सांसद रामहरि खतिवडाले बताए ।
उनका अनुसार प्रत्येक साताको आइतवार समिट एयर र बुधवार नेपाल एयरलाइन्सले सेवा दिने छन् । काठमाडौं–रुम्जाटारको भाडा चार हजार पाँच सय तोकिएको छ । –रासस



प्रतिक्रिया