काठमाडौं । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर पत्नी आरजुका साथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास पुगे । जसलाई आरजु भुटानी प्रकरणमा अनुसन्धानमा नपरौं भनी ओलीकहाँ गए भन्ने आशंका औपचारिक सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा व्यक्त भए ।
बालकोटमा ओली-देउवाको भेटलगत्तै बालुवाटारमा प्रधानमन्त्री दाहाल ओलीबीच भेटवार्ता भयाे । त्यसपछि पुन: ओली, दाहाल र रवि लामिछानेबीच भेटवार्ता भयाे । जसले भुटानी शरणार्थी समस्या समाधानको विषयमा छलफल भयो भन्ने आधारलाई थप बलियो बनायो ।
तर, उल्लेखित भेट बाहिर सोचे र आशंका गरेभन्दा विल्कुल फरक विषयमा केन्द्रित भएको खुलासा भएको छ । यी भेटले सत्ता परिवर्तनकै आधार तय गरेको छ । कांग्रेस सभापति देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । यसबारे नेकपा एमालले आन्तरिक छलफललाई पनि प्राथिमकता दिएको छ ।
सम्भवत: यही पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रधानमन्त्री प्रचण्ड आइतबार ओलीप्रति कडा रुपमा प्रस्तुत भए । उनले नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनलाई सम्बोधनका क्रममा नेकपा फुट्दाको क्षण स्मरण गर्दै संविधान जोगाउन माधव नेपाल र आफू एकैठाउँ रहेको भनी ओलीको विरोध र माधव नेपाल तथा एकीकृत समाजवादीलाई आफूअनुकुल राख्ने प्रयास गरे ।
एमाले र कांग्रेसबीचको सहकार्यबारे माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मा नै एमाले नेतृत्व तहका नेताहरुसँग देउवासँग ओलीको भेटवार्ताको भित्री रहस्य खोतल्न सक्रिय भएका छन् । कतिपयले एमाले–कांग्रेस सहकार्यको ढोका खोल्नेगरि हिजोको बालकोट भेटवार्ता भएको भनेर अर्थ लगाएका छन् । प्रधानमन्त्री दाहालले देउवासँगको भेटवार्ताबारे ओलीसँग गम्भीर चासो राखेका छन् ।
आज सिंहदरबारमा ओलीसँग भएको भेटवार्ता नै देउवासँग के कुरा भएको ? भन्ने विषयमा जान्ने प्रधानमन्त्री प्रचण्डको बढि ध्यान केन्द्रित थियो । स्रोतकाअनुसार ओलीले देउवासँग सामान्य भेटवार्ता भएको र सत्ता गठबन्धनमा कुनै तलमाथि नहुने जवाफ दिएका थिए । लगत्तै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेपनि भेटवार्तामा मिसिएका थिए ।
तीन नेताबीच सत्ता गठबन्धन झनै कसिलो बनाउने विषयमा बढि छलफल भएको बुझिएको छ । प्रधानमन्त्री दाहालसँग ओलीले तत्काल कांग्रेससँग सहकार्य नहुने र यही गठबन्धन ०८४ को निर्वाचनसम्म जाने विषयमा ढुक्क बनाएका थिए । एमालेको ठूलो पँक्ति अहिले कांग्रेससँग सहकार्य गर्न नहुने पक्षमा उभिएको छ ।
खासगरी उपाध्यक्ष विष्णु पौडेलले यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने मत राखेका छन् । उनी एमाले–माओवादी गठबन्धनको सूत्रधार पनि हुन् । प्रधानमन्त्री दाहाल र ओलीबीच सत्ता गठबन्धनको विषयमा भोलि (सोमबार) निर्णायक वार्ता हुने गाईंगुईं चलेको छ । उता, प्रमुख प्रतिपक्षी दलका नेता देउवा भने एमाले र माओवादी दुवै दलका नेतृत्वसँग नियमित सम्पर्कमा छन् । देउवाको दोहोरो सम्पर्कले कतै कांग्रेस माओवादीलाई पूनः आफूतिर फर्काएर पूरानो गठबन्धन बनाउन सक्रिय त छैन भन्नेपनि चर्चा हुन थालेको छ ।
कतिपयले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य नाईके बेचन झा र पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक थापा पक्राउ परेपछि कांग्रेस र एमाले नेतृत्व झस्किएको पनि भनेर विश्लेषण गर्न थालेका छन् । झा पक्राउ प्रकरणले गृहमन्त्री रवि लामिछानेमाथि पनि अनुसन्धान माथिल्लो तहसम्म पुर्याउनुपर्ने दबाब बढेको छ ।
लामिछाने यतिवेला आफ्नो साख बढाउनेगरि लागेको चर्चा छ । उनी भुटानी शरणार्थी प्रकरणमा हाईप्रोफाईलसम्म पुग्नेगरि अघि बढेका छन् । लामिछानेको विरुद्धको मुद्दाको सुनुवाई यही असार १८ गते हुँदैछ । उनीविरुद्ध परेको रिटमा गृहमन्त्रीबाट निलम्बनमा राखेर छानबिन गर्नुपर्ने माग राखिएको छ । त्यसैले पनि असार १८ गतेभन्दा अघि नै नेपाली राजनीतिमा ठूला ठूला घट्ना हुनसक्ने अनुमान लगाईएको छ ।



प्रतिक्रिया