राजनीतिक दलको समितिमा रहेका शिक्षक बर्खास्त गर्न मन्त्रालयको पत्राचार

काठमाडौं । शिक्षा मन्त्रालयले कुनै पनि राजनीतिक दलको समितिमा शिक्षक भेटिए बर्खास्त गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पत्राचार गरेको छ ।
मंगलबार मन्त्रालयमा बसेको बठकको निर्णयबमोजिम मन्त्रालयले सबै शिक्षा तथा मानव स्रोत केन्द्रलाई यस्तो पत्राचार गरेको हो ।

केन्द्रले जिल्ला शिक्षा समन्वय एकाइलाई सम्बन्धित जिल्लामा रहेका शिक्षकको राजनीतिक दलमा संलग्नताबारे छानबिनका लागि निर्देशन पनि दिएको छ ।

दुई साताअघि मन्त्रालयले दलमा आबद्ध शिक्षकविरुद्ध उजुरी आह्वान गरेको थियो । दुई साताको अवधिमा एक दर्जनभन्दा बढी शिक्षकविरुद्ध उजुरी परेको मन्त्रालयले जनाएको छ ।

शिक्षा ऐन, २०२८ को दफा १६ को उपदफा ५ खण्ड छ मा शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको पाइएमा पदबाट हटाइने’ व्यवस्था छ ।

शिक्षा नियमावली, २०५९ संशोधनसहितको नियम १३८ को उपनियम १ मा नोकरीबाट हटाउने वा बर्खास्त गर्ने सम्बन्धमाः ‘ऐनको दफा १६ को उपदफा ५को खण्ड ख, ग, घ, च वा छ को अवस्थामा शिक्षकलाई नोकरीबाट हटाइने भनी उल्लेख छ ।

त्यस्तै, शिक्षा नियमावली, २०५९ संशोधनसहितको नियम १४३ को उपनियम १ को खण्ड घमा नोकरीबाट हटाउने वा बर्खास्त गर्ने भनी उल्लेख छ । शिक्षा नियमावली, २०५९ संशोधनसहितको नियम १४१ मा दलको सदस्य भए, दलको क्रियाकलापमा हिँडेको भेटिएमा आवश्यकताअनुसार निलम्बन गर्न सकिने वा अन्य कारबाही गर्ने उल्लेख छ ।

प्रतिक्रिया