काठमाडौं । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ । सकडखण्डको हुग्दी खोलानजिक पानीधारामा आइतबार बेलुकी ६ बजे ठूला चट्टानसहितको पहिरो झरेको थियो । सोमबार बिहान ११ बजे पहिरो पन्छाउने कार्य सकिएसँगै सडकखण्ड सुचारु भएको नागढुंगा–मलेखु सडक आयोजना (पश्चिम खण्ड)ले जनाएको छ ।
“आज बिहान ११ बजे पहिरो पन्छाउने कार्य सम्पन्न भएसँगै सडकखण्ड सुचारु भएको छ,” आयोजनाले सूचना जारी गर्दै भनेको छ, “यद्यपि, धारापानी, फिस्लिङ र जवाङ खोलामा सडकको छेऊतर्फ भासिएको छ । सो स्थानहरूमा भने सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।”
आयोजना अनुसार, आइतबारदेखि पानी पर्न रोकिएको भएता पनि पहिरो झर्न सक्ने सम्भावना कायमै छ । “जोखिमयुक्त स्थानहरू कृष्णभीर, धारापानी, फिस्लिङ, घोप्टेभीर, सिमलधारा, हुग्दीदेखि जवाङ खोला (ढुंगा झर्न सक्ने) भएर यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्नुहुन अनुरोध छ,” आयोजनाले भनेको छ ।
साथै, तोकिएको गति सीमा कायम राख्न, लेन अनुशासन पालना गर्न, जथाभावी ओभरटेक नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्दै संयमित एवं सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।




प्रतिक्रिया