दुर्गा प्रसाई पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पछिल्ला दिनमा प्रसाईंले दिएका अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको हो ।

यसअघि भदौ २९ गते झापाबाट काठमाडौं आएका प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम गर्न खोजेका थिए । विमानस्थल परिसरमा कार्यक्रम गर्न नमिल्ने भन्दै प्रहरीले उनलाई त्यहीँबाट नियन्त्रणमा लिएर घर पठाएको थियो ।

यसैबीच, प्रसाईंका पछिल्ला अभिव्यक्तिको विषयलाई लिएर रास्वपा सांसद रचना खतिवडा खत्रीले कारबाहीको माग गरेकी थिइन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले प्रसाईंले आफूमाथि लगाएको आरोपको खण्डन गरेकी थिइन् ।

प्रसाईंले आफ्ना छोराको शवसँग सांसद पद साटेको आरोप लगाएपछि खतिवडा संसदमा भावुक बनेकी थिइन् । उनले आफूले सांसद पदभन्दा छोराको न्यायलाई प्राथमिकता दिएको बताउँदै आरोप लगाउनुअघि सोच्न प्रसाईंलाई आग्रह गरेकी थिइन् ।

‘सरकारले बाटो बिरायो भने जेनजी सहिदकी आमाले खबरदारी गर्नुपर्छ भनेर यहाँ आएकी हुँ,’ उनले भनेकी थिइन्, ‘सहिदले पूर्णरूपमा न्याय पाउँछन् भने मैले सांसद पदबाट राजीनामा दिन हिचकिचाहट हुँदैन ।’

आफूमाथि ‘छोराको लाशमाथि सांसद पद साटेको’ आरोप लगाइएको भन्दै उनले दुःख व्यक्त गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘तपाईंहरूको छोराछोरी तपाईंहरूसँग छन् । मेरो संसार उजाडिएको छ । मेरो काख रित्तिएको छ । यो ठाउँमा उभिएर तपाईंहरू एकपल्ट हेरिदिनुहोला । छोरा मेरो काखमा आउँछ भने पद त्याग्न तयार छु ।’

खतिवडाले प्रसाईंलाई सार्वजनिक अभिव्यक्ति दिनुअघि हजारौँपटक सोच्न आग्रह गर्दै कानुनी कारबाहीको मागसमेत गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार