अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ

काठमाडौं । १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार मलेसियालगायत विभिन्न मुलुकसँग अवैध रूपमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा गरिएको अनुसन्धान तथा बैंकिङ कारोबारको विश्लेषणबाट ठूलो रकमको कारोबार भएको खुलेको हो ।

अनुसन्धानका क्रममा विभिन्न व्यक्तिगत तथा व्यावसायिक बैंक खातामार्फत कुल १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार भएको पुष्टि भएको सीआईबीले जनाएको छ ।

यस प्रकरणमा धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजय कुमार मुखिया पक्राउ परेका हुन् । धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले भदौ ३० गते साँझ करिब ५ः२० बजे उनलाई शहीदनगर–४ बाट पक्राउ गरेको हो ।

मुखियामाथि हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसूरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । साथै, कारोबारमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार