चन्द्रमामा बरफको खोजीमा जाँदै चीनको ‘चाङ्गी–७’

काठमाडौं । चन्द्रमाको दक्षिणी ध्रुवमा बरफको खोजीका लागि चिनियाँ अन्तरिक्ष निकायले आफ्नो महत्वाकांक्षी रोबोटिक मिसन ‘चाङ्गी–७’ प्रक्षेपणको तयारी पूरा गरेको छ ।

प्रक्षेपण २०२६ अगस्ट २४ देखि ३१ सम्म हुनेछ । यस अवधिमा मौसम तथा अन्य प्राविधिक अवस्था अनुकूल भएमा मिसन प्रक्षेपण गरिनेछ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको २१ किलोमिटर चौडा ‘सेकलटन क्रेटर’को आसपास अवतरण गर्ने लक्ष्य राखिएको यो मिसन चीनको अहिलेसम्मकै जटिल चन्द्र अभियानमध्ये एक भएको बताइएको छ ।

‘चाङ्गी–७’ का अर्बिटर, ल्यान्डर, रोभर र हपर मुख्य चार भाग रहेका छन् । विशेष प्रविधि जडान भएको बताइएको छ ।

अर्बिटर चन्द्रमाको कक्षमा परिक्रमा गर्दै सतहको नक्सांकन गर्ने तथा पृथ्वीसँग सञ्चार सम्पर्क कायम गर्ने मुख्य यान हो । ल्यान्डर वैज्ञानिक उपकरणसहित चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने मुख्य संरचना हो ।

रोभर अवतरणस्थल वरपर सञ्चालनमा रहेर चन्द्रमाको माटो तथा चट्टानको अध्ययन गर्ने स्वचालित सवारी हो । मिसनको प्रमुख विशेषतामध्ये एक ६ वटा खुट्टा भएको ‘हपर’ हो । परम्परागत रोभर पुग्न कठिन हुने गहिरा तथा स्थायी छायामा रहेका खाडलहरूमा उफ्रिँदै वा छोटो दूरीमा उड्दै पुगेर बरफको उपस्थिति अध्ययन गर्ने यसको उद्देश्य छ ।

चन्द्रमामा पानीको खोजी किन महत्वपूर्ण ?
सन् २००९ मा नासाले गरेको अध्ययन तथा सन् २०२३ मा भारतको ‘चन्द्रयान–३’ अभियानबाट प्राप्त तथ्यांकले चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा बरफको सम्भावनाबारे महत्वपूर्ण प्रमाण उपलब्ध गराएका छन् ।

चन्द्रमामा रहेको पानीबाट हाइड्रोजन र अक्सिजन छुट्याउन सकिन्छ । हाइड्रोजनलाई रकेट इन्धन तथा अक्सिजनलाई सास फेर्न प्रयोग गर्न सकिने भएकाले भविष्यमा चन्द्रमाबाट मंगल ग्रह वा गहिरो अन्तरिक्षतर्फ हुने अभियानका लागि पानी महत्वपूर्ण स्रोत बन्न सक्नेछ ।

प्राचीन ध्रुवीय क्षेत्रमा संरक्षित बरफको अध्ययनबाट चन्द्रमाको विकास, ज्वालामुखी गतिविधि तथा बाह्य अन्तरिक्षबाट पानीका स्रोतहरू आएको प्रक्रियाबारे थप जानकारी प्राप्त हुन सक्ने बताइएको छ । यसले पृथ्वीमा पानीको उत्पत्तिसम्बन्धी अध्ययनमा समेत योगदान पुर्‍याउन सक्ने उल्लेख छ ।

चन्द्रमाको दक्षिणी ध्रुवको कठिन भूगोल, अत्यधिक चिसो तथा स्थायी छायामा रहेका गहिरा खाडलका कारण त्यहाँ अभियान सञ्चालन चुनौतीपूर्ण मानिन्छ । यसअघि रुसको ‘लुना–२५’ सहितका केही चन्द्र अभियान असफल भएका थिए ।

सन् १९६७ को संयुक्त राष्ट्रसंघीय ‘आउटर स्पेस ट्रिटी’ले कुनै पनि देशलाई चन्द्रमा वा अन्य खगोलीय पिण्डमाथि राष्ट्रिय सम्प्रभुता दाबी गर्न रोक लगाएको छ । यद्यपि, अन्तरिक्षबाट प्राप्त स्रोतको स्वामित्व, उत्खनन र व्यावसायिक प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय नियम तथा तिनको व्याख्याबारे अझै बहस जारी छ । अलजजिरा

प्रतिक्रिया