काठमाडौं । अमेरिकाले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलरका वस्तुमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएपछि क्यानडाले पनि अमेरिकी उत्पादनमा जवाफी ट्यारिफ लगाउने घोषणा गरेको छ ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले आगामी सेप्टेम्बर ८ देखि अमेरिकी स्टिल, दुग्धजन्य पदार्थ, घरायसी उपकरण, कृषि औजार, पल्प तथा पेपर र विद्युतीय सामग्रीलगायत वस्तुमा जवाफी महसुल लगाइने बताएका छन् । कुन वस्तुमा कति दर लागू गर्ने भन्ने विवरण भने पछि सार्वजनिक गरिनेछ ।
अमेरिका र क्यानडाबीच वासिङ्टन डिसीमा तीन दिनसम्म भएको व्यापार वार्ता कुनै सहमतिमा पुग्न नसकेपछि दुवै देशबीच ट्यारिफ विवाद थप चर्किएको हो ।
‘डलरको बदला डलर’
अमेरिकाले लगाएको नयाँ ट्यारिफ क्यानडाले अमेरिकातर्फ गर्ने कुल निर्यातको करिब ५ प्रतिशत बराबर रहेको बताइएको छ । प्रधानमन्त्री कार्नीले अमेरिकाले लगाउने प्रत्येक डलरको जवाफ क्यानडाले पनि ‘डलरको बदला डलर’का रूपमा दिने चेतावनी दिएका छन् ।
वार्ता असफल भएपछि अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले क्यानडाले व्यापारिक साझेदारीको ठूलो अवसर गुमाएको आरोप लगाएको छ । अमेरिकाले क्यानडालाई अन्य प्रमुख निर्यातक मुलुकको तुलनामा राम्रो प्रस्ताव दिएको दाबी गर्दै नयाँ माग र पुराना प्रतिबद्धताबाट पछि हट्ने क्यानाडाली नीतिका कारण सहमति हुन नसकेको जनाएको छ ।
अमेरिकाका अनुसार सम्झौता भएको भए एयरोस्पेस आपूर्ति शृंखला, गैरकानुनी व्यापार नियन्त्रण, खनिज सहकार्य र ‘युएसएमसीए’सम्बन्धी वार्तामा प्रगति गर्न सहज हुने थियो ।
पुरानै व्यापार विवादको नयाँ रूप
अमेरिका र क्यानडाबीच लामो समयदेखि विभिन्न व्यापारिक विषयमा मतभेद रहँदै आएको छ । अमेरिकी पक्षले क्यानडाको व्यापार नीतिले अमेरिकी कम्पनीलाई पर्याप्त बजार पहुँच नदिएको आरोप लगाउँदै आएको छ ।
क्यानडाले भने अमेरिकी स्टिल, अल्मुनियम र गाडीमा लगाइएको अतिरिक्त महसुल हटाउन माग गर्दै आएको छ । त्यस्तै, क्यानडाले आफ्ना स्थानीय दुग्ध उत्पादकको संरक्षणका लागि विदेशी दुग्धजन्य उत्पादनमा कडा प्रतिबन्ध लगाउँदै आएको विषयमा पनि अमेरिका असन्तुष्ट छ ।
अमेरिकाले आफ्ना दुग्ध उत्पादनलाई क्यानाडाली बजारमा सहज पहुँच दिन माग गरे पनि क्यानडा त्यसमा पर्याप्त लचिलो नभएको उसको आरोप छ ।
यसैगरी, क्यानडाका केही प्रान्तमा अमेरिकी मदिराको बिक्रीमा लगाइएको रोक, क्यानाडाली सफ्टवुडमा अमेरिकी प्रतिबन्ध तथा महसुललगायत विषय पनि दुई देशबीच लामो समयदेखि विवादका कारण बन्दै आएका छन् ।
नयाँ ट्यारिफ र जवाफी महसुलसँगै अमेरिका–क्यानडा व्यापार सम्बन्ध थप तनावपूर्ण बनेको छ ।



प्रतिक्रिया