गरिमा चौधरीका आमा-बुवा र सरकारबीच तीनबुँदे सहमति

काठमाडौं । सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे सहमति भएको छ ।

शनिबार गृह मन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो । गृहमन्त्री सुधन गुरुङको पहलमा बालिकाका बुवा मनोजकुमार चौधरी र आमा मानमति चौधरीलाई सिमराबाट काठमाडौं बोलाइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कृषिमन्त्री गिता चौधरीले उनीहरूलाई गृह मन्त्रालय लगेकी थिइन् । वार्तामा गृहमन्त्री गुरुङसहित कानुनमन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र महिला, बालबालिकामन्त्री सिता वादी सहभागी थिए ।

सहमतिअनुसार जघन्य अपराधमा हुने सजायसम्बन्धी विद्यमान कानुन पुनरवलोकन गरी आवश्यक कानुनी व्यवस्था गर्न सुझावसहित सात दिनभित्र प्रतिवेदन तयार गरिनेछ ।

यस्तै, बालिकाका अभिभावकको इच्छाअनुसार सालिक निर्माणका लागि भौतिक पूर्वाधारमन्त्री लम्सालले स्थानीय तहसँग समन्वय गर्ने सहमति भएको छ ।

गरिमाको अन्त्येष्टि भने अभिभावकले आफ्नो रीतिरिवाजअनुसार गर्ने सहमतिमा उल्लेख छ । सहमतिपत्रमा सम्बन्धित मन्त्रीहरूसँगै बालिकाका बुवा मनोजकुमार चौधरी र आमा मानमति चौधरीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार