साउनमा ३३० प्रतिशतले बढ्यो ईभीको आयात, बढ्यो, राजस्व

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ६८९ वटा विद्युतीय कार, जीप तथा भ्यान आयात भएका छन्। भन्सार विभागको तथ्यांक अनुसार यी ईभी आयातमा १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बाहिरिएको छ । यो महिनामा चिनबाट ४८९ वटा, भारतबाट १९९ र अमेरिकाबाट १ वटा ईभी आयात भएको छ ।

गत वर्षको साउनको तुलनामा यस वर्षको साउनमा ईभीको आयात ३३० प्रतिशतले वृद्धि भएको छ । गत वर्षको साउनमा १६० वटा मात्रै ईभी भित्रिएका थिए ।

यस वर्षको साउनमा आयात भएका विद्युतीय कार, जीप तथा भ्यानबाट सरकारले १ अर्ब ६ करोड १६ लाख राजस्व संकलन गरेको छ। आयात मूल्यको तुलनामा सरकारलाई प्राप्त राजस्व करिब ६५.७ प्रतिशत बराबर देखिन्छ।

गत आर्थिक वर्षको साउनमा ईभी कार, जीप र भ्यान आयात गर्दा ४१ करोड ४४ लाख रुपैयाँ बाहिरिएको थियो भने २८ करोड २९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको साउनमा आयात मूल्यको तुलनामा राजस्व ६७.५६ प्रतिशत रहेको थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत ईभीको भन्सार दर परिवर्तन गरेको थियो । भन्सार दर परिवर्तन गरेसँगै ईभीको आयात मूल्यको तुलनामा उठ्ने राजस्व प्रतिशत वृद्धि भएको देखिन्छ ।

गएका वर्षहरुमा मोटरको पीक पावरका आधारमा भन्सार दस्तुर लाग्ने गर्थ्यो । तर, चालु आर्थिक वर्षको बजेट मार्फत मूल्यका आधारमा भन्सार दस्तुर निर्धारण गर्ने व्यवस्था गरिएको थियो ।

अटो शोले बनायो माहोल

साउनको अन्तिम सातामा नाइमा मोबिलिटी एक्स्पो आयोजना भयो । यसैगरी, भदौको ९ गतेदेखि १४ गतेसम्म फेरी नाडा अटो शो आयोजना हुँदै छ ।

उक्त शोहरुमा आफ्नो प्रदर्शन गर्न व्यवसायीहरूले नयाँ-नयाँ गाडिहरु भित्र्याएका हुन् । अटो शोहरुमा गाडिको माग बढ्ने हुँदा आयात पनि वृद्धि गरिएको केही व्यवसायीहरू बताउँछन् । यसका साथै चाडपर्व पनि नजिकिँदै गरेकाले गाडिको माग बढ्ने उनीहरूकाे विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार