काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को नयाँ महासचिव चयन प्रक्रिया अघि बढेको छ। वर्तमान महासचिव एन्टोनियो गुटेरेसको दोस्रो कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदैछ।
महासचिव पदका लागि अहिले आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रले अनौपचारिक तथा गोप्य मतदानमार्फत उम्मेदवारहरूको समर्थन परीक्षण गरिरहेका छन्।
शुक्रबार भएको दोस्रो ‘स्ट्र पोल’मा गुयानाकी पूर्वपरराष्ट्रमन्त्री क्यारोलिन रोड्रिग्स–बिर्केटले सबैभन्दा बढी आठ मत पाएकी छन्। पहिलो चरणमा अग्रस्थानमा रहेकी कोस्टारिकाकी रेबेका ग्रिन्स्पान र अर्जेन्टिनाका राफेल ग्रोसीले सात–सात मत पाए।
यसअघि पहिलो चरणमा ग्रिन्स्पानले १० र रोड्रिग्स–बिर्केटले नौ मत पाएका थिए। तर, दोस्रो चरणपछि पनि कुनै उम्मेदवारले सुरक्षा परिषद्को औपचारिक सिफारिसका लागि आवश्यक समर्थन जुटाउन सकेका छैनन्।
महासचिव चयनका लागि सुरक्षा परिषद्का कम्तीमा नौ सदस्यको समर्थन आवश्यक हुन्छ। साथै, पाँच स्थायी सदस्य अमेरिका, रुस, चीन, बेलायत र फ्रान्समध्ये कुनैले पनि भिटो प्रयोग गर्न नहुने व्यवस्था छ। परिषद्ले सिफारिस गरेको उम्मेदवारलाई महासभाले नियुक्त गर्नेछ।
प्रतिस्पर्धामा ग्रिन्स्पान, चिलीकी पूर्वराष्ट्रपति मिसेल बाचेलेट, इक्वेडोरकी पूर्वपरराष्ट्रमन्त्री मारिया फर्नान्डा एस्पिनोसा, राफेल ग्रोसी, रोड्रिग्स–बिर्केटसहित आठ जना छन्। प्रक्रिया प्रारम्भिक चरणमै रहेकाले अहिलेसम्मको मतदानलाई अन्तिम परिणामका रूपमा लिन सकिँदैन।




प्रतिक्रिया