काठमाडौँ । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई-२’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू मोटर्सले ललितपुरको पुल्चोकस्थित द प्लाजामा कार्यक्रम आयोजना गरी नयाँ विद्युतीय एसयूभी सार्वजनिक गरेको हो ।
कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भिगो ई-२ लाई कम्प्याक्ट कारभन्दा माथिको सेग्मेन्टमा पारिवारिक प्रयोगलाई लक्षित गर्दै ‘फुल एसयूभी’का रूपमा बजारमा ल्याइएको बताए । कम्पनीले यसको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यही मूल्यमा भदौ ९ गतेदेखि आयोजना हुने नाडा अटो शोसम्म बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
सरकारले नयाँ बजेटमार्फत विद्युतीय सवारीसाधनको ड्युटी संरचनामा गरेको हेरफेरबाट प्राप्त लाभ ग्राहकलाई नै उपलब्ध गराउने उद्देश्यले विशेष मूल्य निर्धारण गरिएको अग्रवालले बताए । उनका अनुसार कम्पनीले ड्युटी घट्दा प्राप्त हुने लाभ आफूसँग राख्ने वा ग्राहकलाई हस्तान्तरण गर्ने विषयमा छलफल गरेपछि ग्राहकलाई प्राथमिकता दिँदै भिगो ई-२ विशेष मूल्यमा बजारमा ल्याउने निर्णय गरेको हो ।
अग्रवालले भिगो ई-२ ले नेपालको चुनौतीपूर्ण भौगोलिक अवस्थामासमेत आफ्नो क्षमता प्रमाणित गरिसकेको दाबी गरे । उनका अनुसार गाडी मनाङ, मुस्ताङ, सोलुखुम्बु र शुक्लाफाँटालगायतका विकट क्षेत्रमा पुगिसकेको छ । एक ग्राहकले दुई वर्षको अवधिमै ८० हजार किलोमिटरभन्दा बढी चलाएर गाडीको मजबुती र विश्वसनीयता पुष्टि गरेको उदाहरणसमेत उनले प्रस्तुत गरे ।
नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय ग्राहकको रोजाइ ह्याचब्याकबाट एसयूभीतर्फ सर्दै गएको अग्रवालको भनाइ छ । पेट्रोल गाडीमा देखिएको ह्याचब्याकबाट एसयूभीतर्फको परिवर्तन अब विद्युतीय सवारीसाधनमा समेत देखिन थालेको भन्दै उनले नामी भिगो ई-२ ले नेपालको ईभी रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
सन् १९६४ मा विराटनगरको सानो वर्कसपबाट सुरु भएको एमएडब्लू अहिले नेपालको ठूलो अटोमोबाइल समूहका रूपमा विस्तार भएको कम्पनीले जनाएको छ । डोङफेङ नामी नेपालमा चिनियाँ ईभी ब्रान्डमध्ये प्रमुख ब्रान्डका रूपमा स्थापित हुँदै गएको र देशभर दुई हजारभन्दा बढी ग्राहक रहेको कम्पनीको दाबी छ । विश्व बजारमा ब्याट्रीको अभाव र उच्च मागका कारण सवारीसाधन आपूर्तिमा केही समस्या रहे पनि नेपालमा ईभीप्रतिको आकर्षण बढिरहेको अग्रवालले बताए । उनका अनुसार नामी भिगोका लागि हाल ४५ दिनभन्दा बढीको बुकिङ रहेको छ ।
भिगो ई-२ मा ९५ किलोवाटको इलेक्ट्रिक मोटर र ५२.३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ४३० किलोमिटरसम्मको रेन्ज दिन्छ । सहरी सडकका साथै उकालो–ओरालो र लामो दूरीको यात्रालाई ध्यानमा राखेर यसको पावरट्रेन विकास गरिएको कम्पनीले जनाएको छ ।
गाडीमा ३-सी फास्ट चार्जिङ प्रविधि उपलब्ध छ । उपयुक्त डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १८ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ । १८५ देखि १९० मिलिमिटरसम्मको ग्राउन्ड क्लियरेन्स रहेकाले कच्ची तथा चुनौतीपूर्ण सडकमा समेत गाडी चलाउन सहज हुने कम्पनीले जनाएको छ ।
भिगो ई-२ को डिजाइनमा ‘रुबिक्स क्युब’ अवधारणा प्रयोग गरिएको छ । गाडीमा ज्यामितीय डिजाइन, त्रिकोणीय क्रिस्टल टावर टेललाइट, जियोमेट्रिक रियर भ्यु मिरर, सेमी–हिडन डोर ह्यान्डल तथा विशेष डिजाइनका ह्विल दिइएका छन् । अगाडिको आधुनिक हेडलाइट र पछाडिको फरक शैलीको टेललाइटले गाडीलाई अन्य ह्याचब्याक तथा क्रसओभरभन्दा फरक देखाउने कम्पनीको दाबी छ ।
इन्टेरियरतर्फ भिगो ई-२ मा १२.८ इन्चको सेन्ट्रल टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छन् । आरामदायी सिट, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जिङ तथा मल्टिमिडिया सुविधा दिइएको छ । एम्बियन्ट लाइटिङलाई संगीतसँग सिंक्रोनाइज गर्न सकिने सुविधा पनि गाडीमा रहेको छ । अगाडिका सिटमा इलेक्ट्रिक एडजस्टमेन्ट तथा भेन्टिलेसन सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
सुरक्षातर्फ भिगो ई-२ मा एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल–स्टार्ट असिस्ट, रियर पार्किङ सेन्सर तथा रियर क्यामरालगायतका सुविधा समावेश छन् । कम्पनीले नयाँ भिगो ई–२ लाई दैनिक सहरी प्रयोगदेखि लामो दूरी र चुनौतीपूर्ण भौगोलिक क्षेत्रमा यात्रा गर्न सकिने विद्युतीय एसयूभीका रूपमा प्रस्तुत गरेको छ ।



प्रतिक्रिया