ट्रम्पको चेतावनी : इरानलाई सहयोग गरे कारबाही

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आर्थिक वा अन्य कुनै प्रकारको सहयोग गर्ने देश तथा संस्थामाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले इरानविरुद्ध अहिलेसम्मकै कठोर आर्थिक दबाब अभियान अघि बढाउने संकेत गर्दै तेहरानलाई सहयोग गर्ने कुनै पनि पक्षले ठूलो आर्थिक मूल्य चुकाउनुपर्ने बताएका हुन्।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानसँग व्यापार गर्ने वा उसलाई सहयोग पुर्‍याउने देशले ‘गम्भीर आर्थिक परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन्। उनले इरानमाथि आर्थिक युद्ध र अभूतपूर्व स्तरको दबाब बढाउने संकेत गरेका छन्।

ट्रम्पको चेतावनी देशमा मात्र सीमित छैन। कुनै देशका वित्तीय संस्था, कम्पनी, विमानस्थल वा सरकारी निकायले इरानलाई आर्थिक तथा व्यापारिक सहयोगको बाटो खुला गरे उनीहरू पनि अमेरिकी कारबाहीको निशानामा पर्न सक्ने संकेत गरिएको छ।

यद्यपि, ट्रम्पले आफ्नो पछिल्लो चेतावनीमा कुनै पनि देशको नाम तोकेका छैनन्। इरानलाई सहयोग गर्ने देश, कम्पनी वा वित्तीय संस्थाविरुद्ध तत्काल कस्तो कदम चालिनेछ भन्नेबारे पनि उनले स्पष्ट विवरण सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया