अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि, कसको कति ?

काठमाडौं । सरकारले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकसहित प्रारम्भिक बालविकास (ईसीडी) सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको पारिश्रमिक बढाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार अब माध्यमिक तहका अनुदान कोटाका शिक्षकको पारिश्रमिक माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह र आधारभूत तहका शिक्षकको पारिश्रमिक निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम हुनेछ।

नयाँ निर्णयसँगै माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार ६६९ रुपैयाँबाट बढेर ४८ हजार ५८ रुपैयाँ पुगेको छ। त्यस्तै, आधारभूत तहका शिक्षकको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँबाट बढाएर ३८ हजार २०३ रुपैयाँ कायम गरिएको छ।

यसैगरी, सरकारले ईसीडी सहजकर्ता, विद्यालय सहयोगी तथा विद्यालय कर्मचारीका लागि उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा पनि मासिक ५ हजार रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको छ।

नयाँ व्यवस्थाअनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक १२ हजारबाट बढेर १७ हजार रुपैयाँ पुगेको छ। विद्यालय सहयोगीको पारिश्रमिक १० हजारबाट १५ हजार रुपैयाँ तथा लेखा हेर्ने विद्यालय कर्मचारीको पारिश्रमिक १५ हजारबाट २० हजार रुपैयाँ कायम गरिएको छ।

सरकारको यो निर्णयसँगै संघीय अनुदानमा कार्यरत शिक्षक, ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको लामो समयदेखि रहेको पारिश्रमिकसम्बन्धी असमानता केही हदसम्म सम्बोधन हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया