नेपाली जनसम्पर्क समिति अमेरिकाको उपसभापतिमा बस्नेत निर्विरोध

काठमाडौं । नेपाली जनसम्पर्क समिति अमेरिका (NPRCA) को युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत निर्विरोध निर्वाचित भएका छन्।

नेपाली जनसम्पर्क समिति अमेरिकाको सम्पन्न तेस्रो अधिवेशनबाट उनी सो पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

लामो समयदेखि विद्यार्थी राजनीति, संगठन निर्माण तथा सामाजिक अभियानमा सक्रिय बस्नेत निर्विरोध निर्वाचित हुनुलाई अर्थपूर्ण र अमेरिकामा रहेका नेपाली युवालाई नेतृत्वको मूलधारमा जोड्ने सेतुको रुपमा हेरिएको छ ।

यस्तै सो अधिवेशनबाट मुनिन्द्र नेम्वाङ सभापतिमा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनसँगै समितिले युवा पुस्तालाई संगठनमा थप सक्रिय र प्रभावकारी रूपमा जोड्ने अपेक्षा गरिएको छ।

नेपालमा रहँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विभिन्न जिम्मेवारी सम्हाल्दै एक दशकभन्दा बढी समय सक्रिय रहेका बस्नेतले विद्यार्थी राजनीति तथा संगठन निर्माणमा लामो अनुभव हासिल गरेका छन्। विद्यार्थी राजनीतिमा सक्रिय रहँदा संगठन विस्तार, युवा परिचालन र सामाजिक अभियानमा काम गरेका बस्नेत अमेरिका आएपछि पनि गैरआवासीय नेपाली संघ (NRNA) लगायत विभिन्न सामाजिक तथा सामुदायिक संस्थामा सक्रिय रहँदै आएका छन्।

अमेरिकामा नेपाली समुदायसँग निरन्तर जोडिएर काम गर्दै आएका बस्नेतले युवाका समस्या, सम्भावना र नेतृत्व विकासको आवश्यकतालाई नजिकबाट बुझ्दै आएका छन्। यही अनुभव र सक्रियताको परिणामस्वरूप उनी नेपाली जनसम्पर्क समिति अमेरिकाको युवा मामिला उपसभापतिमा निर्विरोध निर्वाचित भएका हुन्।

जिम्मेवारी पाएसँगै बस्नेतले अमेरिकामा रहेका नेपाली युवालाई नेपाली जनसम्पर्क समिति तथा नेपाली समुदायसँग अझ नजिकबाट जोड्ने अभियानलाई प्राथमिकता दिने बताएका छन्।

उनले युवाका लागि नेतृत्व तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, नयाँ पुस्तालाई संस्थाका गतिविधिमा जोड्ने, युवाको सिर्जनशील सोच तथा प्रतिभालाई संस्थागत रूपमा अघि बढाउने र युवाको सहभागिता निर्णय प्रक्रियासम्म पुर्‍याउने योजना अघि सारेका छन्।

त्यसैगरी अमेरिकामा रहेका नेपाली युवाबीच सहकार्य, networking र अनुभव आदानप्रदानको वातावरण निर्माण गर्दै शिक्षा, रोजगारी, उद्यमशीलता तथा सामाजिक सेवाका क्षेत्रमा युवालाई प्रोत्साहित गर्ने उनको प्राथमिकता रहेको छ।

“युवाको सहभागिता केवल कार्यक्रममा उपस्थित हुनेमा सीमित नभई नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा हुनुपर्छ,” बस्नेतले भने, “मलाई प्राप्त जिम्मेवारीलाई युवाको आवाजलाई संस्थागत रूपमा अघि बढाउने अवसरका रूपमा लिएको छु।”

नयाँ नेतृत्वमा सभापति मुनिन्द्र नेम्वाङ र युवा मामिला उपसभापतिमा महेन्द्र बस्नेत लगायतको नेतृत्व आएसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाले युवा पुस्तालाई संगठनसँग जोड्दै समुदायका मुद्दालाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

बस्नेतले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने नेपाली जनसम्पर्क समिति अमेरिकाका सम्पूर्ण प्रतिनिधि, अग्रज, सहकर्मी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार