कर छलीका सामान बरामद

नवलपुर प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका कपडा तथा तयारी पोसाक बरामद गरेको छ ।

पूर्व–पश्चिम राजमार्गमा बिलबिजक नभएको भन्सार छलीको सामान ओसार–पसार भइरहेको सूचनाका आधारमा ६२ लाख ५० हजार ५०० रुपियाँ बराबरका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

कावासोती नगरपालिका –८ फलफूल चोकमा खटिएको प्रहरी चेकिङ टोलीले पश्चिमबाट पूर्व नारायणघाटतर्फ जाँदैगरेको ना.३ ख ४६७२ नम्बरको ट्रक जाँच गर्ने क्रममा बिलबिजक नभएको, लुकाइछिपाइ राखिएको सामान फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

प्रहरीले ट्रकमा विभिन्न रङका एक हजार ५०० थान साडी तथा ठुलो परिमाणमा काँचो कपडा फेला पारेको पण्डितले जानकारी दिनुभयो । बरामद सामानको कुल मूल्य करिब ६२ लाख ५० हजार ५०० रुपियाँ रहेको उनको भनाइ छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि ट्रक र ट्रक चालकसहित महेशपुर भन्सार कार्यालय नवलपरासी पठाइएको कार्यालयले जनाएको छ । बरामद सामानको थप अनुसन्धान तथा आवश्यक कारबाही महेशपुर भन्सार कार्यालयबाट हुने बताइएको छ ।

प्रतिक्रिया