नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाका सभामुख भीम भण्डारीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।
करिब ११ महिनादेखि अमेरिकामा रहेका कांग्रेस सांसद प्रकाश देउवालाई सभामुख भण्डारीले पदमुक्त गरेपछि शाहले उक्त निर्णय पूर्वाग्रही र बदनियतपूर्ण भएको आरोप लगाएका हुन् । पत्रकारहरूसँग कुरा गर्दै उनले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको दाबी गरे ।
मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत लिन तयारी गरिरहेका बेला त्यसलाई प्रभावित पार्ने उद्देश्यले कांग्रेस सांसद देउवालाई पदमुक्त गरिएको शाहको आरोप छ ।
शाहका अनुसार प्रदेशसभा सदस्य देउवाले आफू अनुपस्थित रहेकोबारे जानकारी गराइसकेका थिए । तर, सभामुखले एकपटक पनि सोधपुछ वा स्पष्टीकरणको अवसर नदिई पदमुक्त गर्नु गलत भएको उनले बताए ।
यसअघि साविक नागरिक उन्मुक्ति पार्टीकी सांसद इन्दिरा गिरीलाई पनि पदमुक्त गरिएको र सर्वोच्च अदालतले पुनर्बहाली गरेको उदाहरण दिँदै शाहले प्रकाश देउवाको विषयमा पनि कानुनी उपचारको बाटो खुला रहेको बताए ।
सभामुखले दलगत आधारमा प्रदेशसभाको अंकगणित हेरेर निर्णय गर्न नहुने शाहको भनाइ छ । सभामुखको भूमिका निष्पक्ष र तटस्थ हुनुपर्ने भन्दै उनले यस्ता घटना दोहोरिन नहुने चेतावनीसमेत दिए ।
सभामुखको निष्पक्ष भूमिकाका लागि आफूहरूले सहयोग गर्ने भए पनि गलत निर्णय र गतिविधिको भने निरन्तर विरोध गरिरहने शाहले बताए ।
यसैबीच, आज मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभामा विश्वासको मत लिँदा नेपाली कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरेको शाहले जानकारी दिएका छन् ।


प्रतिक्रिया