गोप्य रुपले रुसले इरानलाई हतियार दिएको खुलासा

रुसले गोप्य मार्ग प्रयोग गरी इरानको सैन्य भण्डार मजबुत बनाउन सहयोग गरिरहेको छ । एनबीसी न्युजका अनुसार रुसले इरानलाई टीएनटी विस्फोटक पदार्थ, ड्रोनका पार्टपुर्जा तथा गोलाबारुद पठाइरहेको बताएको छ ।

एक युरोपेली सरकारको दस्तावेजलाई उद्धृत गर्दै भू–उपग्रह तस्बिरहरूले ब्यालिस्टिक मिसाइल निर्माणका लागि आवश्यक केही पार्टपुर्जासमेत पठाइएको हुन सक्ने जनाइएको छ । अमेरिका र इजरायलसँगको हालैको युद्धका क्रममा इरानको सैन्य भण्डारमा उल्लेख्य कमी आएको थियो ।

रुसले यसका लागि क्यास्पियन सागरको मार्ग प्रयोग गरिरहेको छ । क्यास्पियन सागरसँग रुस, इरान, काजाकिस्तान, तुर्कमेनिस्तान र अजरबैजानको सीमा जोडिएको छ ।

यो समुद्री मार्गले पश्चिमी देशहरूको निगरानीबाट जोगिन मद्दत पुर्‍याउने बताइएको छ । यहाँबाट गुड्ने जहाजले आफ्नो ट्रयाकिङ सिस्टम बन्द गर्न सक्ने भएकाले तिनको आवतजावत पत्ता लगाउन निकै कठिन हुने बताइएको छ ।

क्यास्पियन सागर रुस र इरानबीच सुरक्षित ‘ब्याकडोर’ तथा रणनीतिक समुद्री मार्गका रूपमा काम गरिरहेको छ । यो मार्गले दुवै देशलाई अन्तर्राष्ट्रिय प्रतिबन्ध र पश्चिमी देशहरूको निगरानीबाट जोगिँदै सैन्य सामग्री ओसारपसार गर्न सहज बनाउने बताइएको छ ।

पहिले इरानले ड्रोन दिन्थ्यो, अब रुसले गर्दै छ सहयोग
युक्रेन युद्धका क्रममा इरानले रुसलाई साहेदजस्ता ड्रोन उपलब्ध गराएको थियो । अहिले रुसले इरानको घटेको सैन्य भण्डार पुनः भर्न सहयोग गरिरहेको छ ।

इजरायलले यसअघि इरानका महत्वपूर्ण बन्दरगाह तथा सैन्य आपूर्ति सञ्जाललाई लक्षित गरिसकेको छ । ‘द टाइम्स अफ इजरायल’का अनुसार, इजरायली आक्रमणमा बन्दर अञ्जली बन्दरगाहका केही सुविधा तथा इरानी नौसेनासँग सम्बद्ध स्थानमा क्षति पुगेको थियो । उक्त बन्दरगाह इरानसम्म सैन्य सामग्री पुर्‍याउने समुद्री सञ्जालको एक हिस्सा हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार