काठमाडौं । इरानले स्ट्रेट अफ हर्मुजको व्यवस्थापन सम्बन्धी ओमानसँगको सम्झौता अन्तिम चरणमा पुगेको जनाएको छ । तर उक्त सम्झौता मात्रै जलमार्ग पूर्ण रुपमा पुनः सञ्चालन गर्न पर्याप्त नहुने भन्दै अमेरिकाले इरानका विभिन्न सर्त स्वीकार गर्नुपर्ने अडान दोहोर्याएको रोयटर्सले जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार इरान र ओमान नयाँ समुद्री मार्गसम्बन्धी समझदारीको निकै नजिक पुगेको बताए। यद्दपि, हर्मुज पुनः खोल्ने निर्णय अमेरिकाले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिने लगायतका थप सर्त पूरा गरेपछि मात्र सम्भव हुने उनले बताएका छन् ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाकर जोलकाद्रले अमेरिकाका धम्की अन्त्य गर्नुपर्ने, इरान तथा उसका लेबनानी, प्यालेस्टिनी, यमनी र इराकी सहयोगीमाथिको आक्रमण रोक्नुपर्ने, इरानमाथिको नाकाबन्दी र प्रतिबन्ध हटाउनुपर्ने तथा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग अघि सारेका छन्। परिषद्ले अमेरिकाले आफ्नो “व्यवहार सच्याएपछि मात्र” हर्मुज जलडमरुमध्य खुल्ने चेतावनीसमेत दिएको छ।
ओमानले भने हर्मुजमार्फत जहाज आवागमन व्यवस्थापनसम्बन्धी इरानसँगको वार्ता सकारात्मक र रचनात्मक रहेको जनाएको छ। ओमानको विदेश मन्त्रालयले वार्ताको प्रगति प्रभावित हुने कुनै पनि गतिविधिबाट बच्न सबै पक्षलाई आग्रह गरेको छ। अराघचीले विगतमा लागू गरिएको जहाज आवागमन व्यवस्थापन प्रणाली तेहरानलाई स्वीकार्य नरहेको बताएका छन्। स्थायी समाधानका प्राविधिक तथा कानुनी विषय टुंगो नलागेसम्म अस्थायी समुद्री मार्गबारे ओमानसँग छलफल भइरहेको उनले बताए ।
यसैबीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो सरकारी तेल कम्पनीसँग सम्बन्धित एक ट्यांकरमाथि हर्मुज जलडमरुमध्यमा मिसाइल आक्रमण भएको आरोप इरानमाथि लगाएको छ । यूएईका अनुसार इरानले जलडमरुमध्यमा प्रभावकारी नाकाबन्दी लागू गर्दै आएको छ र मार्ग प्रयोग गर्ने जहाजहरुबाट शुल्क असुल्न खोजिरहेको छ। तेहरानले आफूले तोकेको मार्ग प्रयोग नगर्ने जहाजहरुमाथि पटक–पटक आक्रमण गरिरहेको आरोप पनि लगाइएको छ।
अमेरिकाले हर्मुज जलडमरुमध्यमा इरानले कुनै शुल्क लगाउने वा नियन्त्रण कायम गर्ने प्रयासको कडा विरोध गर्दै आएको छ। यद्दपि जुन महिनामा भएको एक समझदारीअनुसार भविष्यमा जलडमरुमध्यको व्यवस्थापनसम्बन्धी विषयमा इरान र ओमानबीच सहकार्यको ढोका खुला राखिएको बताइएको छ।
युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले हर्मुज जलडमरुमध्यलाई विश्वकै महत्वपूर्ण ऊर्जा व्यापार मार्गमध्ये एक मानिन्छ । लगातारका आक्रमण र अवरोधका कारण अप्रिलमा भएको युद्धविरामसमेत भंग भएको थियो । त्यसपछि मध्यस्थकर्ताहरुले दुवै पक्षलाई जुन महिनाको सहमतिका शर्तहरुमा फर्किन आग्रह गर्दै आएका छन्।
इरानी राष्ट्रपति मसुद पेजेशकियानले अहिलेको समय सम्झौताका लागि सबैभन्दा उपयुक्त रहेको बताएका छन्। देशभित्र एकता, शक्ति र स्थिरता कायम रहेको उल्लेख गर्दै उनले इरान युद्धमा बलियो स्थितिमा रहेको दाबी गरेका छन्। यसैबीच क्षेत्रीय सुरक्षा सन्तुलनलाई लिएर नयाँ कूटनीतिक गतिविधिहरु पनि तीव्र भएका छन् । साउदी अरेबिया, पाकिस्तान र टर्कीले हालै संयुक्त रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । टर्कीका विदेशमन्त्री हाकान फिदानले उक्त सम्झौता इरान वा कुनै अन्य मुलुकविरुद्ध लक्षित नभई क्षेत्रीय स्थायित्वका लागि भएको बताएका छन्।
फिदानले इजिप्ट पनि ‘मक्का संयुक्त रक्षा सम्झौता’मा सहभागी हुने अपेक्षा व्यक्त गरेका छन्। अमेरिका–इरान युद्धका कारण हर्मुज जलडमरुमध्य र लाल सागर क्षेत्रको समुद्री व्यापार प्रभावित भइरहेका बेला यस्तो सुरक्षा सहकार्यलाई क्षेत्रीय स्थिरतासँग जोडेर हेरिएको छ।


प्रतिक्रिया