देशको संकट टार्न नयाँ राजनीतिक मोर्चा आवश्यक छ : शाह

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकलाई विद्यमान अन्त्यहीन संकटबाट निकास दिन नयाँ राजनीतिक मोर्चाको आवश्यकता रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था दयनीय बन्दै गएकाले अग्रगामी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । “देशको संकट समाधान र अग्रगमनका लागि नयाँ मोर्चाको विकल्प छैन,” उनले भने ।

अध्यक्ष साहले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको टिप्पणी गरे । उनले वर्तमान राजनीतिमा धोका, बेइमानी र अनैतिकता हाबी भएको भन्दै यसलाई तोड्न जरुरी रहेको उल्लेख गरे ।

मोर्चाको उद्देश्य सत्ता प्राप्ति वा पदको भागबण्डा नभई देशलाई समृद्धिको दिशामा लैजानु रहेको उनले प्रष्ट पारे । उनले सरकार र सत्ता फेरिए पनि काम गर्ने संस्कार र प्रवृत्ति नफेरिएको भन्दै वर्तमान सरकारले जनतालाई ढाँटेको आरोप समेत लगाए ।

“देश निरन्तर संकटको यात्रामा छ । ४६ सालको आन्दोलन, जनयुद्ध र मधेस आन्दोलनका माध्यमबाट ठूलो बलिदानी त भयो, तर जनताले अपेक्षा गरेको सुखद् दिन अझै आउन सकेको छैन,” उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार