काठमाडौं । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको आशंका गरेका छन् ।
विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता आङ्देम्बेले जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि मास्ने कुरा स्वीकार्य नहुने बताएका हुन् ।
‘नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको छ । यी उपलब्धि कसैको दया वा कृपाबाट प्राप्त भएका होइनन्,’ उनले भनेका छन्, ‘आदिवासी जनजातिसहित सबै समुदायका नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि हुन् । तर आज म चिन्तित छु । सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ त उन्मुख भई रहेको महसुस हुन थालेको छ ।’
उनले संविधानका कमजोरी र समस्यालाई संशोधन तथा परिमार्जनमार्फत सुधार गर्न सकिने भए पनि संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई कमजोर बनाउन नहुने उल्लेख गरेका छन् ।
आङ्देम्बेले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको भन्दै यी उपलब्धि कसैको दया वा कृपाबाट नभई आदिवासी जनजातिसहित नेपाली जनताको लामो संघर्षबाट प्राप्त भएको बताएका छन् ।
उनले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । साथै राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयता संस्थागत गर्नुपर्ने उनको भनाइ छ ।
विश्व आदिवासी दिवसले आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति र अधिकारका लागि भएका संघर्ष, त्याग तथा बलिदानलाई स्मरण गर्ने अवसर भएको उल्लेख गर्दै आङ्देम्बेले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई कार्यान्वयन गर्न प्रतिबद्ध हुन आह्वान गरेका छन् ।


प्रतिक्रिया