खाना पकाउने ग्यास कालोबजारी गर्ने एक पक्राउ

काठमाडौं । खाना पकाउने एलपी ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकमा त्वयना किराना पसल सञ्चालन गर्ने ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, त्वयनाले उपभोक्ताहरूलाई प्रतिसिलिन्डर सात हजार रुपैयाँसम्म लिई ग्यास बिक्री गरिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो । सोही जानकारीका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच तथा अनुगमन गर्दा तीन थान ग्यास सिलिन्डर बरामद गरेको छ ।

पक्राउ परेका पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया