साउन १७ र १८ गते भारी वर्षा हुनसक्ने सम्भावना क्षेत्र कुन कुन हुन् ?

काठमाडौं । देशका केही स्थानमा अबका दुई दिन (साउन १७–१८) ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ । वर्षसँगै ती क्षेत्रमा गेग्य्रान बहाव, बाढीपहिरोको जोखिम हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन अनुरोध छ,” विभागले भनेको छ ।

आइतबार (साउन १७) देशका केही स्थानमा ‘भारी’ र एक–दुई ठाउँमा ‘धेरै भारी’ वर्षाको पूर्वानुमान छ । “कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, मधेस प्रदेशलगायत लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा साथै कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ,” विभागले भनेको छ ।

सोमबार (साउन १८) वाग्मती, गण्डकी र लुम्बिनीको पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

अरू केही भूभागमा भारी वर्षाको पूर्वानुमान छ । “वाग्मती, गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ,” विभागले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार