पाकिस्तानको काराकोरममा हिम पहिरो, नेपाली आरोहीसहित १० बेपत्ता

पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको विश्वको १२औँ अग्लो हिमाल ब्रड पिकमा ठूलो हिमपहिरो गएपछि नेपाली चर्चित पर्वतारोही निर्मल ‘निम्स’ पुर्जासहित १० जना आरोही सम्पर्कविहीन भएका छन्।

बिहीबार बिहान करिब ९ः२० बजे ब्रड पिकमा हिमपहिरो गएको बताइएको छ।

त्यतिबेला आरोहीहरूको ठूलो टोली शिखरतर्फ अघि बढिरहेको थियो। हिमपहिरोपछि टोलीका १० जना आरोहीसँग सम्पर्क हुन सकेको छैन।

पाकिस्तानको पर्वतारोहणसम्बन्धी संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) ले ब्रड पिकमा करिब ८ हजार ४७ मिटर उचाइमा हिमपहिरोले आरोहीहरूको टोलीलाई प्रभावित पारेको जानकारी प्राप्त भएको जनाएको छ।

एसीपीका अनुसार उक्त टोलीमा प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेका पाँच नेपाली आरोही, पाकिस्तानका सोहेल साखी, ओमानकी पर्वतारोही नथिरा, अमेरिकी आरोही म्यालोरी गाइस, चीनका वाङ तथा अर्का एक विदेशी आरोहीसहित १० जना रहेका छन्।

हिमपहिरोपछि सम्पूर्ण टोली सम्पर्कविहीन भएको एसीपीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार