काठमाडौं । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा परी मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच विभिन्न माग सम्बोधन गर्ने गरी सहमति भएको छ।
सहमति पत्रअनुसार सरकारले मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
त्यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ।
देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने पनि सहमति पत्रमा उल्लेख छ।
सहमतिको अर्को बुँदामा मृतकका प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने उल्लेख गरिएको छ।
घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ।
त्यसैगरी, मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।
सहमतिमा आज (शुक्रबार) दिउँसो २ बजे मृतकको दाहसंस्कार गर्ने पनि उल्लेख गरिएको छ।


प्रतिक्रिया