प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगन्ज र सिराहा लगायतका क्षेत्रमा भएका पछिल्ला दुःखद घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देशवासीका नाममा विशेष सम्बोधन गरेका छन् ।
सम्बोधनमा उनले सबै पक्षलाई संयम रहन र राष्ट्रिय एकता जोगाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री शाहले सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएका नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य निकायहरूलाई निर्देशन दिइएको उनको भनाइ छ ।
घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको बताउँदै प्रधानमन्त्रीले दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याइने दृढता व्यक्त गरेका छन् ।
‘घटनाको छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ, दोषीलाई कडा कानुनी कारबाही गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने ।
शान्ति सुरक्षाको अवस्थालाई थप मजबुत बनाउन राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी आवश्यक निर्णयहरू भइसकेको प्रधानमन्त्रीले बताए । घटनाको प्रत्यक्ष अनुगमन र पीडितसँग संवाद गर्न गृहमन्त्री स्वयम् प्रभावित क्षेत्रमा पुगिसकेको जानकारी समेत उनले दिए ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत असत्य, अपुष्ट सूचना र घृणा फैलाउने सामग्रीहरू सम्प्रेषण नगर्न नागरिकहरूलाई सचेत गराए । आधिकारिक तथ्यमा मात्र विश्वास गर्न आग्रह गर्दै उनले अराजकता फैलाउने र सदियौँ पुरानो भाइचारा खल्बल्याउने तत्वहरूविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी दिए ।
‘संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन,’ प्रधानमन्त्री शाहले भने, ‘सबै धर्मको मूल सार करुणा, दया र शान्ति नै हो ।’
नेपालको संविधानले प्रदान गरेको धार्मिक र सांस्कृतिक अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले प्रतिशोधको आगो नफैलाउन सबैमा अनुरोध गरे ।


प्रतिक्रिया