भदौ १ बाट रास्वपाको क्यानिडेट क्लबका लागि आवेदन खुल्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने भएको छ । पार्टीले आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको जनाएको छ ।

रास्वपाका महामन्त्री विपीनकुमार आचार्यले आज सामाजिक सञ्जालमार्फत पार्टीको धारणा सार्वजनिक गर्दै स्थानीय तहसम्म राजनीतिक शुद्धीकरण र सुशासनको आधार निर्माण गर्ने उद्देश्यका साथ ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् ।

उनका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई केवल चुनावी प्रतिस्पर्धाका रूपमा नभई तल्लो तहसम्म इमानदार, सक्षम र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने अभियानका रूपमा पार्टीले लिएको छ ।

यही उद्देश्यलाई कार्यान्वयन गर्न उम्मेदवार छनोटको पहिलो चरणस्वरूप ‘क्यान्डिडेट क्लब’ मा आवेदन आह्वान गर्न लागिएको उनले उल्लेख गरेका छन् ।

महामन्त्री आचार्यले परम्परागत राजनीतिक दलहरूले अपनाउँदै आएको अपारदर्शी उम्मेदवार छनोट प्रणालीलाई परिवर्तन गर्दै रास्वपाले थप लोकतान्त्रिक, पारदर्शी, वैज्ञानिक तथा आधुनिक प्रणालीमार्फत उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको बताएका छन् ।

उनले उम्मेदवार छनोटको प्रारम्भिक रूपरेखा तयार भइसकेको जनाउँदै त्यसलाई अझ प्रभावकारी, व्यावहारिक र जनमुखी बनाउन पार्टीभित्र व्यापक छलफल चलिरहेको जानकारी दिएका छन् ।

हाल पार्टीका विभिन्न संरचना, नेता–कार्यकर्ता तथा आम सदस्यहरूबाट सुझाव सङ्कलन गर्ने काम भइरहेको उनले बताएका छन् । आचार्यका अनुसार उम्मेदवार छनोटको मापदण्ड, मूल्याङ्कन प्रणाली तथा प्रक्रियालाई अन्तिम रूप दिनुअघि प्राप्त सुझावलाई प्राथमिकताका साथ समेटिनेछ । यसले उम्मेदवार छनोटलाई निष्पक्ष, विश्वसनीय र प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

उनले पार्टीले तयार पारेको उम्मेदवार छनोटसम्बन्धी दस्तावेज गम्भीरतापूर्वक अध्ययन गरी रचनात्मक सुझाव दिन सबै सदस्य, शुभेच्छुक तथा सरोकारवालासँग आग्रह गरेका छन् । व्यापक सहभागिता र सुझावका आधारमा तयार हुने प्रणालीले स्थानीय तहका लागि योग्य नेतृत्व चयन गर्न मद्दत पुग्ने उनको भनाइ छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहमा नेतृत्व गर्न इच्छुक व्यक्तिहरूलाई प्रारम्भिक रूपमा समेट्ने, उनीहरूको योग्यता, क्षमता, नेतृत्व कौशल, जनसम्बन्ध, नैतिकता तथा सार्वजनिक उत्तरदायित्वका आधारमा मूल्याङ्कन गर्दै अन्तिम उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने तयारी गरेको बुझिएको छ ।

पार्टीले यसअघि पनि उम्मेदवार छनोटमा नयाँ अभ्यासको पक्षमा रहेको बताउँदै आएको थियो । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सुरु गर्न लागिएको ‘क्यान्डिडेट क्लब’ लाई रास्वपाले आफ्नो संगठन विस्तार र योग्य नेतृत्व उत्पादन गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया