बिम्स्टेकलाई जनकेन्द्रित, समावेशी र प्रभावकारी बनाउन जोड

काठमाडौं । बिम्स्टेकलाई जनकेन्द्रित, समावेशी र प्रभावकारी क्षेत्रीय संगठनका रूपमा विकास गर्न सदस्य राष्ट्रहरूबीच जनस्तरीय सम्पर्क, व्यापार, पूर्वाधार र आर्थिक सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको छ।

बिम्स्टेक स्थापनाको ३० वर्ष पूरा भएको अवसरमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) ले त्रिपुरेश्वरस्थित सगरमाथा हलमा आयोजना गरेको ‘बिम्स्टेकका ३० वर्ष : जनस्तरीय सम्पर्कमार्फत क्षेत्रीय सहकार्य, एकीकरण र साझा समृद्धिको प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवादमा वक्ताहरूले यस्तो धारणा राखेका हुन्।

कार्यक्रमका प्रमुख वक्ता तथा बिम्स्टेकका महासचिव इन्द्रमणि पाण्डेले तीन दशकको अवधिमा बिम्स्टेकले संस्थागत सुधार र क्षेत्रीय सहकार्यमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गर्दै अबको प्राथमिकता जनस्तरको सम्बन्ध विस्तार, आपसी सम्पर्क, व्यापार तथा आर्थिक सहकार्यलाई सुदृढ बनाउनु रहेको बताए। उनले शान्त, समृद्ध र उत्थानशील बंगालको खाडी क्षेत्र निर्माणका लागि सदस्य राष्ट्रहरूबीच अझ घनिष्ठ सहकार्य आवश्यक रहेको बताए। साथै, उनले बिम्स्टेकको साझा अवसर र चुनौती व्यवस्थापनमा नेपालको योगदान उल्लेखनीय बन्दै गएको पनि बताए।

प्रतिक्रिया