कामनपामा आजदेखि गरीब घरपरिवार गणना सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकामा गरिब घरपरिवार गणना सुरु भएको छ ।

आइतबारबाट महानगरमा गरिब परिवारको गणना सुरु भएको हो । सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीतिअनुसार काठमाडौं महानगरपालिका भित्रका गरिब घरपरिवार गणना गर्न लागिएको जनाइएको छ । महानगरको गणना सकिएसँगै देशभर गरीब परिवार गणना सकिनेछ ।

यसअघि सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । बाँकी १३ जिल्लाका काठमाडौं महानगर बाहेक सबै पालिकामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता भट्टले काठमाडौं महानगरपालिकाले गरिब घरपरिवारको गणना गर्ने र त्यो तथ्यांक प्रोसेसिङको काम मन्त्रालयले गर्ने बताए । ‘त्यसपछि गरिब घरपरिवारको परिचयपत्र वितरण गरिन्छ र त्यो परिचयपत्रको आधारमा उनीहरुले सरकारबाट पाउने विभिन्न सेवा सुविधा पाउँछन्,’ प्रवक्ता भट्टले भने ।

गरिब तथ्याङ्क संकलनको काम २०७० सालमा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो । हरेक ५ वर्षमा गरिब परिचय पत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कसैको पनि नवीकरण गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार