काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी तथा सैन्य गोप्य सूचना सञ्चारमाध्यममा चुहाउने व्यक्तिलाई गोली हान्नुपर्ने बताएका छन् । आउँदो नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनका निम्ति समर्थन जुटाउने क्रममा एरिजोनाको बुलहेड सिटीमा आयोजित चुनावी र्यालीमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
र्यालीमा सहभागी भीडलाई सम्बोधन गर्दै उनले भने, “मेरो विचारमा सूचना चुहाउनेहरूलाई गोली हान्नुपर्छ । विगतमा कुनै देशमाथि कहिले आक्रमण गर्ने भन्नेजस्ता संवेदनशील सूचना चुहाउनेहरूलाई गोली हान्ने गरिन्थ्यो ।”
ट्रम्पको यो अभिव्यक्ति सन् २०२५ जुनमा इजरायल र इरानबीच भएको १२ दिने युद्धका क्रममा अमेरिकाले इरानमाथि गरेको सैन्य आक्रमण ‘अपरेसन मिडनाइट ह्यामर’सँग जोडिएको छ । उक्त आक्रमणपछि अमेरिकी रक्षा गुप्तचर एजेन्सी (डीआईए)को प्रारम्भिक प्रतिवेदनलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका थिए ।
सार्वजनिक नगरिएको उक्त प्रतिवेदनमा अमेरिकी बमबारी हुनुअघि नै इरानले आफ्नो धेरैजसो प्रशोधित युरेनियम अन्यत्र सारिसकेको उल्लेख थियो । साथै, ट्रम्पले दाबी गरेअनुसार इरानका आणविक संरचनामा पूर्ण क्षति नपुगेको र क्षति अपेक्षाकृत सीमित रहेको प्रतिवेदनमा संकेत थियो ।
तर, ट्रम्पले अमेरिकी सैन्य आक्रमणको समयतालिकासम्बन्धी सूचना चुहाइएको आरोप लगाएका छन् । सैन्य कर्मचारीको जीवन जोखिममा पारेको भन्दै उनले विशेष गरी द न्युयोर्क टाइम्स र सीएनएनप्रति आक्रोश व्यक्त गरेका थिए ।
“हामी कुन समयमा निस्किँदै छौँ र कुन समयमा पुग्दै छौँ भन्ने कुरा उनीहरूले सार्वजनिक गरे,” ट्रम्पले भने ।
सूचना चुहावटका कारण आफूले बमबारी अभियान दुई दिन पछाडि सार्नुपरेको उनको भनाइ थियो । उनले थपे, “कसैले सूचना चुहायो । त्यो जोसुकै घटिया व्यक्ति भए पनि उसलाई जेलमा हाल्नुपर्छ वा गोली हान्नुपर्छ । उसलाई जीवनभर जेलमै सडाइनुपर्छ ।”
सञ्चारमाध्यमसँग ट्रम्पको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ ।


प्रतिक्रिया