काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले भोटेकोशी बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।
सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवको तत्काल डीएनए परीक्षण गर्न माग गरेको छ। साथै, बेपत्ता व्यक्तिका परिवारको सहमतिमा आवश्यक कानुनी प्रक्रिया छिटो पूरा गरी मृत्यु प्रमाणपत्र उपलब्ध गराउन र पीडित परिवारलाई राहत तथा सुविधा दिन सरकारसँग आग्रह गरेको छ।
बैठकले विपद्का कारण स्थगित ‘हामी सुन्छौँ’, ‘नागरिक नीति र नेतृत्व’ अभियान तथा स्थानीय तहका उम्मेदवार छनोटलगायत सांगठनिक कार्यक्रम तत्काल अघि बढाउने निर्णय पनि गरेको छ।
यस्तै, केन्द्रीय अनुशासन आयोग, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग र सार्वजनिक सेवा विभागमा सदस्य मनोनयन गरिएको छ।
बैठकमा उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमण र आर्थिक कूटनीतिबारे जानकारी गराएका थिए। संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन जाने प्रधानमन्त्री तथा प्रतिनिधिमण्डललाई भोटेकोशी विपद्, बदलिँदो परिस्थितिसहित अन्तर्राष्ट्रिय मञ्चमा नेपालको भूमिकाका विषयमा केन्द्रित हुन सुझाव दिइएको रास्वपाले जनाएको छ।
सह-महामन्त्री हरि ढकालले मधेश प्रदेशको संगठनात्मक अवस्था र कार्यसम्पादन अडिटको प्रारम्भिक प्रतिवेदन पेस गरेका छन्। विस्तृत प्रतिवेदन आएपछि थप रणनीति तय गरिने रास्वपाले जनाएको छ।

प्रतिक्रिया