काठमाडौं । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्विरोध हुने भएका छन्। पार्टीको दोस्रो महाधिवेशनका लागि अध्यक्ष पदमा राउतको मात्रै उम्मेदवारी परेपछि उनी पुनः अध्यक्ष बन्ने निश्चित भएको हो।
असोज ९ र १० गते वीरगञ्जमा हुने महाधिवेशनका लागि असोज १ गते उम्मेदवारी दर्ता भएको थियो। विभिन्न पदमा १०३ जनाले उम्मेदवारी दिँदा अध्यक्षमा भने राउतको मात्रै उम्मेदवारी परेको निवर्तमान महासचिव चन्दन सिंहले जानकारी दिए।
अध्यक्षबाहेक अन्य पदमा भने प्रतिस्पर्धा देखिएको छ। सात उपाध्यक्षका लागि १४ जना, महासचिवमा ३ जना, उपमहासचिवमा २ जना र सात सचिवका लागि १० जनाको उम्मेदवारी परेको छ। कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन्।
उम्मेदवारी फिर्ताको समय आइतबार साँझ ५ बजेसम्म तोकिएको छ। हालसम्म कसैले उम्मेदवारी फिर्ता नलिएको र सहमतिको प्रयास भइरहेको सिंहले बताए।
उनका अनुसार सहमति नभए बहुमतका आधारमा निर्वाचनमा जाने विकल्प खुला छ। पदाधिकारी चयनको जिम्मेवारी अध्यक्षलाई दिने विषयमा पनि छलफल भइरहेको उनले बताए। अध्यक्षसहित अन्य पदाधिकारीको आधिकारिक घोषणा असोज १० गते गरिनेछ।






प्रतिक्रिया