व्यक्तिगत रोजगार भिसामा यूएई नआउनू : महावाणिज्य दूतावास

काठमाडौं । भिजिट तथा व्यक्तिगत रोजगार भिसामार्फत नेपालीलाई दुबई पुर्‍याएर ठगी गर्ने घटना बढेपछि युनाइटेड अरब इमिरेट्स (यूएई)स्थित नेपाली महावाणिज्य दूतावासले सचेत रहन आग्रह गरेको छ ।

दुबईस्थित नेपाली महावाणिज्य दूतावासले शुक्रबार सूचना जारी गर्दै रोजगारीका लागि यूएई जान चाहने नेपालीलाई भिजिट भिसाको सट्टा संस्थागत रोजगार भिसामार्फत सुरक्षित रूपमा जान अनुरोध गरेको हो ।

दूतावासका अनुसार स्थापित तथा भरपर्दो रोजगारदाता कम्पनीमा आफ्नो योग्यता र अनुभवअनुसारको उच्च सीपयुक्त काम, यसअघि आफूले काम गरिसकेको विश्वसनीय कम्पनीमा रोजगारी वा यूएईमा रहेका परिवारका सदस्यको पहलमा खोजिएको विश्वासिलो कम्पनीको कामबाहेक व्यक्तिगत रोजगार भिसामा यूएई नजान आग्रह गरिएको छ ।

संस्थागत रूपमा वैधानिक र सुरक्षित माध्यमबाट रोजगारीका लागि यूएई जाने विकल्प हुँदाहुँदै पनि उल्लेख्य संख्यामा नेपाली असुरक्षित माध्यमबाट यूएई पुगेर ठगीमा पर्ने गरेको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार केही नेपालीले नेपालमै दलाललाई लाखौँ रुपैयाँ बुझाएर अन्य मुलुकको भिजिट भिसा लिने गरेका छन् । त्यसपछि काठमाडौंबाट हवाई यात्रा सुरु गरी शारजाह वा दुबईमा ट्रान्जिटका क्रममा गन्तव्य मुलुक नगई ठगीको उद्देश्यले निकालिएको व्यक्तिगत श्रम भिसामार्फत यूएई प्रवेश गर्ने गरेको पाइएको छ ।

यूएई पुगेपछि सम्बन्धित कम्पनीसँग सम्पर्क हुन नसक्ने वा कम्पनीले बेवास्ता गर्ने अवस्था आएपछि उनीहरू अलपत्र पर्ने गरेका छन् ।

नेपालमै ठूलो रकम बुझाएर यूएईको भिजिट भिसा लिने र यूएई पुगेपछि काम खोज्ने सोचका कारण कतिपय नेपाली पुनः दलालको फन्दामा पर्ने गरेको दूतावासले जनाएको छ ।

ठगी तथा कानुनी झमेलामा परेका नेपाली नागरिकबाट महावाणिज्य दूतावासमा उल्लेख्य संख्यामा गुनासो प्राप्त भएको सूचनामा उल्लेख छ ।

दूतावासले यस्ता ठगीबाट जोगिन सचेत रहनुको विकल्प नभएको भन्दै रोजगारीका लागि यूएई आउँदा वैधानिक र सुरक्षित माध्यम अपनाउन पुनः आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार