काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थीका परिवारका सदस्य तथा सन्तानलाई विदेश जान रोक नलगाउन सरकारका नाममा परमादेश जारी गरेको छ ।
शरणार्थीका सन्तानलाई देश छाड्न अनुमति नदिँदा उनीहरूको कानुनी पुनर्वास, पारिवारिक पुनर्मिलन र सुरक्षित आवागमनमा अवरोध हुने ठहर गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
एक शरणार्थी परिवारका सदस्यलाई विदेश जान अनुमति नदिएको विषयमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले शरणार्थीको स्वतन्त्र आवागमन र पारिवारिक पुनर्मिलनमा अनावश्यक तथा कारणविहीन अवरोध गर्न नहुने स्पष्ट गरेको छ । पुनर्स्थापना प्रक्रियालाई सहजीकरण गर्नु राज्यको दायित्व रहेको पनि अदालतले जनाएको छ ।
झापाको बेलडाँगी शिविरमा जन्मिएका सोनिका अंकारी, सन्ध्या अंकारी र श्रीजन अंकारीका बाबु मोनीकुमार सन् १९९० को दशकमा भुटानमा भएको दमन तथा मानवअधिकार उल्लंघनपछि शरणार्थी बनेर नेपाल आएका थिए । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) को तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रमअन्तर्गत मोनीकुमार सन् २०१५ मा अमेरिका पुगेका थिए । उनकी श्रीमती गीता गिरी पनि सन् २०२४ मा अमेरिका पुगेकी थिइन् ।
त्यसपछि उनीहरूका तीन सन्तानले गत जेठमा अमेरिका जान आवश्यक यात्रा अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय, झापामा सिफारिस मागेका थिए । तर, शरणार्थी व्यवस्थापन सूचना प्रणालीमा उनीहरूको विवरण दर्ता नभएको भन्दै प्रशासनले सिफारिस दिन अस्वीकार गरेको थियो ।
गृह मन्त्रालयले मोनीकुमार तेस्रो मुलुकमा पुनर्स्थापित भएपछि शरणार्थीको अभिलेखबाट लगत कट्टा भएको र उनकी श्रीमती शरणार्थी नभएकाले सन्तानलाई शरणार्थीको हैसियतमा निकास अनुमति दिन नसकिएको दाबी गरेको थियो ।
तर, जन्मदर्ता, डीएनए परीक्षणबाट बाबुआमा र सन्तानबीचको सम्बन्ध पुष्टि भएको तथा बाबु र आमा दुवै अमेरिका पुगेको तथ्यका आधारमा सर्वोच्चले प्रशासनको निर्णयमाथि प्रश्न उठाएको छ ।
अदालतले कानुनी प्रक्रिया पूरा गरी परेको निवेदनमाथि जिल्ला प्रशासन कार्यालयले प्रमाण परीक्षण गरेर अनुमति दिने वा नदिने विषयमा निर्णय गर्नुपर्नेमा त्यसो नगरेको जनाएको छ ।
सर्वोच्चले शरणार्थीका बालबालिकालाई देश छाड्न अनुमति अस्वीकार गर्नु कानुनी पुनर्वास, पारिवारिक पुनर्मिलन र सुरक्षित आवागमनमा अवरोध हुने ठहर गर्दै उनीहरूलाई अमेरिकामा पुनर्स्थापनाका लागि आवश्यक निकास अनुमतिपत्र उपलब्ध गराउन परमादेश जारी गरेको हो ।


प्रतिक्रिया