सुधारिएका कानुन लागु भए मात्रै लगानी बढ्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण सुधार गर्न सुधारिएका कानुनहरू प्रभावकारी रूपमा लागु हुनुपर्ने बताएका छन् । राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलन तयारीसम्बन्धी लगानी र विकासका लागि कानुन सुधार परामर्शको तीनदिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले आर्थिक सुधारका लागि तयार पारिएको सुझावलाई कार्यान्वयन गर्नसके नेपालमा स्वदेशी तथा विदेशी लगानी बढ्नुका साथै रोजगारी र राजस्व सिर्जनामा समेत सहयोग पुग्ने उल्लेख गरे । ढकालले महासंघको अध्यक्ष रहँदा नै नेपालको लगानी प्रवर्द्धनसम्बन्धी कानुनहरू पुरानो र परम्परागत रहेको भन्दै तिनमा सुधारका लागि उच्चस्तरीय आयोग वा सुझाव संयन्त्र बनाउनुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको स्मरण गरे ।

त्यसैको निरन्तरताका रूपमा सरकारले उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गरेको उनको भनाइ छ । आफू निजी क्षेत्रको प्रतिनिधिका रूपमा आयोगको सदस्य भएर काम गरेको बताउँदै कतिपय कानुनहरू नयाँ ल्याइए पनि कार्यान्वयनमा जान नसकेको बताए ।

ढकालले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक गरिएका सयबुँदे निर्णयमध्ये अधिकांश निजी क्षेत्रले दिएका सुझावका आधारमा अघि बढाइएको भए पनि अझै पनि धेरै निर्णय कार्यान्वयनमा जान नसकेको बताए ।

“नेपालमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने काममा निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार छ,” उनले भने । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

सम्बन्धित समाचार