काठमाडौं । फिलिपिन्सको चर्चित पर्यटकीय क्षेत्र कोरोननजिकै समुद्रमा यात्रुवाहक फेरीमा आगलागी हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । यस्तै, घटनामा परी ८७ जना बेपत्ता भएका छन् ।
फिलिपिन्स कोस्टगार्डका अनुसार ‘एमभी जुन एस्टर’ फेरी दुर्घटनाको समयमा यात्रु तथा चालक दलका सदस्य गरी कुल १३४ जना सवार थिए ।
दुर्घटनालगत्तै परिचालन गरिएको उद्धार टोलीले समुद्रबाट ४२ जनाको सकुशल उद्धार गरेको कोस्टगार्डले जनाएको छ । कोस्टगार्डकी क्याप्टेन नोएमी कायाब्याबले स्थानीय रेडियो स्टेसनलाई दिएको जानकारीअनुसार अझै ८७ जना बेपत्ता छन् ।
फिलिपिन्स कोस्टगार्डले सार्वजनिक गरेको भिडियोमा पूरै फेरी भीषण आगोको लप्काले ढाकिएको देखिन्छ । उद्धारकर्ताहरूले समुद्रमा फसेका मानिसलाई सुरक्षित स्थानमा लैजाँदै गरेको दृश्यसमेत भिडियोमा देखिन्छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ । बेपत्ताहरूको खोजी तथा उद्धारका लागि समुद्री तथा हवाई टोली परिचालन गरिएको कोस्टगार्डले जनाएको छ । बीबीसी


प्रतिक्रिया