काठमाडौं । लोकप्रिय मेसेजिङ एप व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधाहरू सार्वजनिक गरेको छ। कम्पनीले अकाउन्ट टेकओभर, फिसिङ तथा अन्य प्रकारका अनलाइन ठगीबाट प्रयोगकर्तालाई सुरक्षित राख्न थप बलियो सुरक्षा व्यवस्था ल्याएको जनाएको छ।
नयाँ अपडेटअनुसार अब दुई–चरणीय प्रमाणीकरणका लागि प्रयोग हुँदै आएको ६ अंकको पिनको सट्टा अक्षर, अंक र विशेष चिन्ह समावेश भएको लामो पासवर्ड राख्न सकिनेछ। यसले पासवर्ड अनुमान गरेर अकाउन्टमा अनधिकृत पहुँच पुर्याउने जोखिम कम हुने कम्पनीको विश्वास छ।
त्यस्तै, एउटै व्हाट्सएप अकाउन्टमा एकभन्दा बढी पासकी थप्न सकिने सुविधा पनि उपलब्ध गराइने भएको छ। आईओएस र एन्ड्रोइड दुवै उपकरण प्रयोग गर्ने व्यक्तिका लागि यो सुविधा विशेष रूपमा उपयोगी हुने बताइएको छ।
सन् २०२४ मा सुरु गरिएको पासकी प्रणालीमार्फत प्रयोगकर्ताले परम्परागत पासवर्डको सट्टा फेस आईडी वा फिङ्गरप्रिन्ट प्रयोग गरेर लगइन गर्न सक्छन्। यसले प्रयोगकर्ता नाम र पासवर्ड चोरी गरी गरिने फिसिङ आक्रमणको जोखिम उल्लेखनीय रूपमा घटाउने कम्पनीको दाबी छ।
यसका साथै, अपरिचित नम्बरबाट आउने कलका सम्बन्धमा थप जानकारी देखाउने सुविधा पनि थपिएको छ। यसबाट प्रयोगकर्ताले शंकास्पद वा सम्भावित ठगीका कल पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ।
हालका वर्षहरूमा अनलाइन ठगी, फिसिङ र अकाउन्ट ह्याकिङका घटना बढ्दै गएपछि व्हाट्सएपसहित विभिन्न मेसेजिङ प्लेटफर्महरूले प्रयोगकर्ताको सुरक्षा मजबुत बनाउन नयाँ–नयाँ सुरक्षा सुविधाहरू थप्ने क्रम तीव्र बनाएका छन्।







प्रतिक्रिया