संसद्को गरिमा राख्न सभामुखको आह्वान

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‍मा सहभागी दललाई संसद्को गरिमा उच्च राख्न र जनअपेक्षाको सम्बोधनमा एक भएर अगाडि बढ्न आह्वान गरेका छन्।

संवाद र सहकार्यको माध्यमबाट दलीय सहमति कायम गर्दै संसद् दिवस, २०८२ को अवसरमा आज (सोमबार) शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले यस्तो आह्वान गरेका हुन् ।

सो क्रममा संसद्लाई अझ प्रभावकारी, उत्तरदायी र जनउत्तरदायी बनाउनेतर्फ स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार प्रकट गरे ।

सन्देशमा भनिएको छ, ‘शासन व्यवस्थामा नीति निर्माण, कानुन निर्माण तथा कार्यान्वयनको प्रभावकारी निगरानी जस्ता महत्त्वपूर्ण कार्य संसद्मार्फत सम्पन्न गरिन्छ, संसद्ले व्यवस्थापकीय कार्यविधिको माध्यमबाट जनताको अभिमतअनुरूप नीति र कानुन सुनिश्चित गर्दछ।’

उनले जनताको स्वीकृति बिना कर नलगाइने भन्ने लोकतान्त्रिक सिद्धान्तको सम्मान गर्दै संविधानले करसम्बन्धी सबै प्रस्तावहरू सभामा प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मर्म नै संवाद, सहकार्य र सहमति भएको जनाउँदै विविध राजनीतिक दलहरूबिच विचार, दृष्टिकोण र प्राथमिकताहरू फरक–फरक भए तापनि साझा राष्ट्रिय सरोकारका विषयमा दलीय सहमति आवश्यक र अपरिहार्य भएको बताएका छन् । संसद् वादविवादको नभएर संवादको थलो बन्नुपर्ने उनको भनाइ छ।

संसद् दिवसको ऐतिहासिक अवसरमा संसदीय लोकतन्त्र प्राप्तिको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले राजनीतिक योद्धाको योगदानको स्मरण पनि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार