काठमाडौं । प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद विकास कोष खारेजका लागि सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएको छ ।
रास्वपाले बिहीबार प्रस्ताव दर्ता गराएको हो ।
प्रस्तावमा विगतमै विवादित बनिसकेको कार्यक्रम सांसद विकास कोष खारेज गर्न माग गरिएको छ । “सरकारले असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्युँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको मात्र नभएर प्रस्तुत बजेटको विश्वसनीयतामाथि नै प्रश्न चिह्न खडा गरेको छ,” प्रस्तावमा भनिएको छ ।
त्यसअगाडि भनिएको छ, “आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माण भइरहँदा नेपाली कांग्रेस प्रतिपक्षी दल थियो र कुनै हालतमा पनि यो कार्यक्रम खारेज गरिनुपर्ने मागसमेत गरेको थियो ।
साथै, उक्त कार्यक्रमको बजेट कोरोनाभाइरस सङ्क्रमण रोकथाममा लगानी गर्नुपर्ने भनी सो पार्टीको केन्द्रीय समितिले निर्णयसमेत गरेको जगजाहेर छ ।
अहिले कांग्रेसकै अर्थमन्त्री भएको र मुलुक आर्थिक मन्दीबाट गुज्रिरहेको अवस्थामा आफैँले विरोध गरेको कार्यक्रम ब्युँताउन लागिपरेको पनि देखियो ।
विसं २०५१ सालदेखि २ लाख ५० हजार रुपैयाँबाट सुरू भएको यस कार्यक्रम कुनै सरकारले हटाउने त कुनैले समावेश गर्ने गरिँदै आएको देखिन्छ ।”



प्रतिक्रिया