काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले केन्द्रसहित प्रदेशमा एमाले–माओवादीसहितको सत्तागठबन्धनलाई सघाउने भएको छ ।
बुधबार कैलालीमा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको बहुमत संस्थापक केन्द्रीय सदस्यको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयअनुसार नाउपाले केन्द्रसँगै प्रदेशका सरकारमा सहभागी हुनेछ ।
प्रतिनिधिसभामा नागरिक उन्मुक्तिका चार सांसद छन् भने मधेश, लुम्बिनी र सुदूरपश्चिममा पनि प्रदेश सांसद छन् ।
सुदूरपश्चिम प्रदेशमा त सरकार गठनका लागि नाउपा सात मतसहित निर्णायक छ । केन्द्रीय सदस्य थारूका अनुसार गठबन्धनसँग भागबन्डाको विषय टुंगिएपछि सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिइनेछ । नाउपालाई सुदूरपश्चिममा मुख्यमन्त्री दिनेबारे केन्द्रमा छलफल भइरहेको छ । योसँगै अल्पमतमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नाउपाको यो निर्णयसँगै थप अप्ठेरोमा परेका छन् ।
अध्यक्ष रञ्जिताका पतिसमेत रहेका संरक्षक रेशम चौधरी पक्षधर केन्द्रीय सदस्यले बहुमतविना नै बैठक बसेको दाबी गर्दै उक्त बैठकका निर्णय मान्य नहुने बताएका छन् । नाउपा सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीका संरक्षक र बहुमत संस्थापक सदस्य अनुपस्थित रहेको बैठकका निर्णय संसदीय दलले स्वीकार नगर्ने बताए ।





प्रतिक्रिया