नेपाल सरकारले रुसी सेनामा भर्ना भएका आफ्ना नागरिकहरूलाई तत्काल फर्काउन माग गरिरहँदा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयले नेपालीहरू त्यहाँको सेनामा कार्यरत रहेको र हताहत भएको भन्नेबारे ‘कुनै जानकारी’ आफूसँग नभएको जनाएको छ।
रुसी राष्ट्रपतिको प्रेस तथा सूचना कार्यालयले बीबीसी नेपालीले सोधेको प्रश्नमा जबाफ दिँदै त्यसो भनेको हो।
केही दिनअघि मात्रै नेपालका प्रधानमन्त्रीले झन्डै २०० जना भन्दा बढी नेपाली रुसी सेनामा कार्यरत रहेको हुनसक्ने बताएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहालले केही नेपालीहरू युक्रेनी सेनामा कार्यरत रहेको पनि सूचना प्राप्त भएको बताएका थिए।
नेपालको परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत रहँदा ६ जना नेपालीको निधन भएको भन्दै तीनको शव यथाशीघ्र नेपाल पठाउन र पीडितका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकारसँग माग गरेको थियो।







प्रतिक्रिया